स्रष्टा पदयात्राको पच्चिसौ श्रृङ्खला : गागलफेदी हुँदै सुन्दरीजल

मुख्य समाचार साहित्य

काठमाडौँ, ७ मंसिर, स्रष्टा पदयात्राको पच्चिसौ श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ । दश जनाको स्रष्टा टोलीले काठमाडौं जिल्लाको गागलफेदी बजारबाट पदयात्रा गर्दै सुन्दरीजल पुगेर यात्रा समापन गरेको हो । हरेक महिनाको पहिलो शुक्रबार यो पदयात्राको आयोजना हुने गर्दछ ।

पदयात्रामा डिल्लीराज अर्याल, शीतल गिरी, नारायण भण्डारी ‘जनकपुरी’, लीलाराज दाहाल, डा. धनप्रसाद सुवेदी, बसन्त रिजाल, शान्ति सापकोटा, डा. ध्रुवकुमार घिमिरे, मन्दिरा मधुश्री र शुभारम्भ पाण्डे रहेका थिए । पदयात्रीहरुले गागलफेदी भन्दा माथि डाँडामा रहेको रमणीय शहिदपार्क पुगेर त्यहाँको प्राकृतिक छटा अवलोकन गरी रमाइलो वातावरणमा मध्यान्ह १२ बजे भोजन गरेका थिए ।

केहीबेर त्यहाँको प्राकृतिक सौन्दर्यमा मुग्ध भएपछि ओरालो ओलैदै गोरटो बाटो भएर रोमाञ्चक यात्रा गर्दै टोली कागेश्वरी पुगेको थियो । हिन्दू र बौद्ध दुबै धर्मावलम्बीको आस्थाको केन्द्र यस क्षेत्रमा वैशाख पूर्णिमाको दिन भब्य मेला लाग्दो रहेछ । मणिचूड दहबाट बगेर आएको पानीले यहाँ स–सानो झरनाको रूप धारण गरेकोले यस स्थानको प्राकृतिक सौन्दर्यता बढाएको छ । त्यसमाथि झन् मानव निर्मित धातुको विशाल कागले सुनमा सुगन्धको काम गरेको छ । वनको बीचमा रहेको यो स्थान प्रकृतीप्रेमीलाई मुग्ध बनाउन सक्षम छ ।

कागेश्वरीबाट गोरेटो बाटो पश्चिमतर्फ गएपछि साचो चउरजस्तो स्थानमा श्रष्टाहरुले कवि गोष्ठी गरेका थिए । अनि सुन्दरीजलमा रहेको मेलम्ची खानेपानीको काम हुँदै गरेको स्थल अवलोकन गरी फलामेपुलबाट बागमती तरेर सुन्दरीजल बसपार्कमा पुगी ४ बजे बस चढेर पदयात्रीहरु आ–आफ्नो निवासस्थान तर्फ फर्किएका थिए ।

प्राकृतिक छटाले भरिपूर्ण यो मार्ग पदयात्राको लागि निक्कै रमाइलो रहेको छ । शहरी वातावरण भन्दा अलग्दै वनजंगल, पहाड, खोल्साखोल्सी चाहार्नुको मज्जा यो क्षेत्रमा लिन सकिन्छ ।

Loading...