बन्दना नेपालको गिनिज वर्ल्ड रेकर्ड राख्ने नृत्य सुरु

आजको म्यूजिक मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ७ मंसिर, नृत्याङ्गना बन्दना नेपालले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन नृत्य सुरु गरेकी छिन् । लगातार १ सय २६ घण्टा नाचेर व्यक्तिगत तर्फ विश्वकै सबैभन्दा लामो नृत्यको रेकर्ड राख्ने अभियान शुक्रबारबाट सुरु भएको हो ।

राजधानीको बत्तिसपुतलीस्थित बिग फूडल्याण्डमा यो अभियान सुरु भएको छ । बन्दना नेपालको अभियानलाई आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र उर्जा मन्त्री वर्षमान पुनले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा टेक्निकल टिम, टायम किपर र विट्नेश (साक्षी) को टोली निरन्तर बस्नेछ भने दर्शक दीर्घामा पनि कम्तिमा १० जना लगातार बस्नु पर्ने कार्यक्रम संयोजक तथा नृत्याङ्गनाका पिता राम नेपालले बताए । करिब छ दिन लामो यो अभियानमा स्पोर्ट भेरिफाइ गर्न गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक टोली पनि आउने छ ।

यसअघि भारतको केरलाकी कलामण्डलम हेमलथाले लगातार १ सय २३ घण्टा १५ मिनेट शास्त्रीय संगीतमा नृत्य गरेर विश्वकै सबैभन्दा लामो नृत्यको रेकर्ड राखेकी छिन् । सोही रेकर्डलाई तोड्न नेपालकी बन्दना नेपालले तयारी गरेकि हुन् । हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि रेकर्ड नराखेकोले बन्दना नेपालको ‘सांस्कृतिक नृत्यमा विश्वकै पहिलो’ रेकर्ड पनि हुने बताइएको छ ।

यो अभियानलाई काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका, बुढानिलकण्ड नगरपालिका, जनता बैंक, चेल्सी इन्टरनेशनल एकेडेमी, नेपाल पर्यटन बोर्ड, एरी इन्स्योरेन्स, गौतम इन्स्योरेन्स एजेन्सी लगायतले स्पोन्सर गरेका छन् । नेपाली मौलिक गीतहरुको माध्यमबाट नेपाल र नेपालीको नाम विश्वमा पुर्याउने यो अभियान भएकोले सबै नेपालीलाई एक पटक आएर अभियन्ताको हौसला बढाइ दिन पनि संयोजक नेपालले आग्रह गरेका छन् ।

Loading...