उपप्रमुख गुरुङ गोर्खाली ताराबाट सम्मानित

मुख्य समाचार समाज

कास्की, ६ मङ्सिर पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित हुनुभएको छ । समाजमा शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको क्षेत्रमा उपप्रमुख गुरुङले पुर्याएको योगदानलाई कदर गर्दै गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा बुधबार साँझ आयोजित कार्यक्रममा उहाँलाई ‘गोर्खा तारा २०७५’ बाट सम्मान गरेको हो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य मीना गुरुङ तथा प्रालिका अध्यक्ष हरिकुमार धमलाले उपप्रमुख गुरुङलाई सम्मानपत्र, दोसलाको साथमा गोर्खा ताराको अवार्ड प्रदान गरी सम्मान गर्नुभएको थियो । त्यस्तै गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार (गोल्ड मेडल) बाट पत्रकार दीननाथ बराल सम्मानित हुनुभएको छ । उहाँ पत्रकार महासङ्घ कास्कीका सहसचिव हुनुहुन्छ ।

उपसभामुख शर्माले देशमा स्थिर सरकार बनेसँगै लगानीमैत्री वातावरण सिर्जना भएकाले निर्धक्कका साथ उद्योग व्यवसायको क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आह्वान गर्नुभयो । उपप्रमुख गुरुङले महिला तथा बालबालिकाको हकहित र महिला सशक्तीकरणका लागि उपप्रमुखसँग महिला कार्यक्रम महानगरले ल्याएको भनाइ राख्नुभएको थियो ।  धरानबाट आफ्नो व्यवसाय शुरु गरेको गोर्खा बराहको पोखरा, काठमाडौँ, चितवन तथा देश बाहिर पनि शाखा सञ्चालनमा छन् ।(रासस)