हराउँदै त्रिशूलीको कान्छी बदाम

कृषि मुख्य समाचार

जमुना गजुरेल    विदुर, २ मङ्सिर लौ आयो त्रिशूलीको कान्छी बदाम आयो, नुवाकोटे बदाम” भन्दै अहिले पनि राजधानीलगायत अन्य ठाउँमा व्यापारीले डालामा राखेर बदाम बेच्ने गर्थे । अहिले साँच्चिकै भनूँ भने नुवाकोटे बदामको स्वाद अहिलेका मानिसले चाख्न पनि पाएका छैनन् । नुवाकोट, विदुर –७ तुप्चेका ३९ वर्षीय कृष्ण रिजाल भन्नुहुन्छ, “पहिला हामी भुरा हुदा आफ्नै घरमा मात्र नभई टोलछिमेकले कात्तिके चिसो बदाम खनेर ल्याएपछि आँगनभरि सुकाएको देखिन्थ्यो तर अब एक घान भुटेर खान त बजारमै गई किनेर ल्याउनुपर्छ, आँगनमा बग्रेल्ती सुकाएर बेच्न अब कहाँ पाउनू ?”

जिल्लाको ग्रामीण भेगमा रहेका पाखाबारीमा बीस वर्ष पहिले बदाम खेतीको चाप बढ्दो रुपमा थियो । अहिले जिल्लामा मात्र नभई नेपालभरि प्रख्यात ‘त्रिशूलीको कान्छी बदाम’लाई नुवाकोटे आफैले सिलो खोज्नु पर्नेभएको छ ।  वर्षैपिच्छे नुवाकोटको देवीघाटमा ठूलो एकादशी मेला लाग्छ । अहिले पनि नजिजिएको यस मेलामा जिल्लामा उत्पादित बदाम, सखरखण्ड, पिँडालु, मास, भटमास, आलुलगायत कन्दमूल तथा खाद्य पदार्थ बेच्न राखिएको पाइन्छ  तर अहिले बदाम भने कमै देखिन्छ । पहिले बदाम फलाएर घरमा ल्याइएपछि कहाँ बेच्ने भनेर बजार धाइरहनुपर्ने झण्झट पनि थिएन ।

गाउँकै व्यापारीले घरमै आएर पाथीको हिसाबले किनेर लाने गरेको बुधसिङ– ४ का ६० वर्षीय रत्नबहादुर श्रेष्ठले बताउनुभयो ।  उहाँ भन्नुहुन्छ,“बीस वर्षसम्म मैले गाउँको बदाम भरेको हुँ, आफ्नो गाउँमा मात्र हैन, तारुका र्गोस्याङ, खुमालटार, ए कति टाढाटाढा गएर पाथीको हिसाबले किन्ने गरेको थिएँ । पछि मान्छेले बदाम लगाउनै छाडे, किनबेचको काम घट्ने भएपछि मैले नि यो काम छाडेको अहिले १० वर्षजति भयो । ” उहाँले एक पाथीको रु १० बाट किन्न शुरु गरेको र पछि रु बीस, पच्चीस, तीस, चालीस र पचाससम्म किनेर रु पाँचदेखि सातसम्म फाइदा लिई बेच्ने गर्नुहुन्थ्यो ।  पछि समय नै बदलियो । सबै थोकका भाउ बढ्यो ।  अहिले त पाथीकै रु  दुई सयदेखि तीन सय कतै त चार, पाँच सय पनि भन्छन् । “अब यो व्यापार गरेर सकिन्न । भन्या जस्तो बदाम नि पाइन्न, बदाम खेती गर्ने  छाडे मानिसले । यो माटोमा के हात हाल्नु भन्छन् । विदेश जाने, शहरमा बस्ने गर्छन् ।  हामीले जति गर्यौँ, गर्यौँ, अब सबै पढेलेखेका भएर होला खेती गर्दैनन्”” उहाँले दुखेसो पोख्नुभयो ।

बुधसिङ, तारुका, दर्शनटार, नेवारपानी, सिम्ले, खुमालटार, पीपलडाँडा, खड्कभञ्ज्याङ, जोगीडाँडा, चैनपुर, खरानीटार, तुप्चे, सातबीसे, चौघडा, ढिकुरे, लब्धुबेंसी, लिखुलगायतका सम्म र भिरालो जमीन, पाखाबारीमा समेत बदाम लगाई हिउँदमा बेची प्रशस्त आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् ।   अहिले भने किसानका पाखाबारी बाँझै देखिन्छ ।

नुवाकोटको बदाम अन्तभन्दा स्वादिलो हुने गरेको विदुरका पुराना किसान बताउँछन् । “हाम्रा ठाउँमा फलेको बदाम तीनदेखि पाँच कोसासम्म हुने गरेको  थियो । बदाम हेर्दै रहरलाग्दो, पोटिलो, कोसा खाँदा दुधिलो, गुलियो र चपाउँदा मुखभरि तेल आउने हुन्थ्यो । अहिलेको बदाम त स्याप्प परेको, न स्वाद छ, न मीठो, खै र पहिलाको बदाम कसैले लगाउँदैनन्”, माझीटारका ५२ वर्षीय राजेन्द्रबहादुर अर्यालले बताउनुभयो ।

जिल्लामा बढी बदाम लगाइने र धेरै फल्ने ठाउँमा विदुर नगरपालिकाका पीपलटार, माझीटार, इनारपाटी, बुनीलगायत छन् । ती ठाउँमा अरु गाउँठाउँका बारीमा भन्दा बढी फल्ने गरेको विदुर– ५ पीपलटारका ७८ वर्षीय सुकदेव पनेरुले बताउनुभयो । उहाँका अनुसार अन्य ठाउँभन्दा ती ठाउँ सम्म र फराकिलो हुनाका साथै पारिलो घाम र रातो माटाको कारण अन्तभन्दा दोब्बर बदाम फल्ने गरेको उहाँ  बताउनुहुन्छ । पनेरु भन्नुहुन्छ, “ पहिला पहिला हामी बदाम लगाउनका लागि मेला जान भ्याइ नभ्याई हुन्थो । अब खै सबै शहर पसे, गाउँमा को बस्ने र खेती गर्ने ? हाम्रा पालामा बीस मुरी बदाम यही हातले भित्र्याएएको हुँ, तर अब किन्न नि कहाँ पाउनु र बा ?”, उहाँले भन्नुभयो ।

नुवाकोट कृषि विकास कार्यालयको तथ्याङ्कानुसार अहिले बदाम खेती धेरै घटेर गएको छ ।  कार्यालयका प्रमुख कमल गैरेले जिल्लामा धेरैभन्दा धेरै खेतियोग्य जमीनमा बदाम लगाउने गरेको पुरानो तथ्याङ्क भए पनि  आजकल बदाम खेती कमै पाइएको बताउनुभयो । गैरेका अनुसार विसं २०७०÷०७१ सालमा १९ हेक्टर क्षेत्रफलमा बदाम खेती लगाइएकामा २७ टन बदाम उत्पादन भएको थियो । त्यसैगरी २०७१÷०७२ मा १७ हेक्टर क्षेत्रफलमा खेती गरिएको  २५ टन बदाम उत्पादन भएको थियो । त्यसैगरी २०७२÷०७३ तथा २०७३÷०७४  को तथ्याङ्कानुसार १५–१५ हेक्टर क्षेत्रफलमा  २१–२१  टन बदाम उत्पादन भएको थियो ।  आव २०७४÷०७५ मा भने १४ हेक्टर क्षेत्रफलमा २० टन उत्पादन भएको थियो । त्यसै गरी आव २०७५÷०७६ मा १२ हेक्टरमा क्षेत्रफल र १९ टन मात्र  उत्पादन भएको गैरेले बताउनुभयो । यसरी सामान्यतया हरेक वर्ष बदाम खेती हुने क्षेत्रफल र उत्पादन परिमाण पनि घट्ने गरेको छ ।  अहिले गाउँ वा नगरका जमीन बाँझै रहेको र किसानले खेती गरिए पनि बदाम भने आफूलाई खान मात्र पुग्ने गरी पाँच सात पाथी फल्ने मात्र लगाउने गरेका छन् ।(रासस)