बिना बर्दीका पुलिस लोकार्पण (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, १ मंसिर, बिना बर्दीका पुलिस… नामक एक गीत शुक्रबार लोकार्पण गरिएको छ । नेपाल पुलिस क्लबमा आयोजित एक विशेष समारोहकाबीच शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त गीतको लोकार्पण गर्नु भयो । नागरिक–प्रहरी सहकार्यमा जनचेतनामूलक गीतको लोकार्पण कार्यक्रम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सभापतित्वमा भएको थियो ।

सो गीतको लोकार्पणपछि सम्बोधन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले देश परिवर्तनपछिको स्थायित्व तिर गइरहेकोले यो बेला नागरिक र प्रहरीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो । उहाँले त्यसकालागि यस्ता गीतले निक्कै महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनु भयो ।
उहाँले यो गीत समय सापेक्ष रुपमा आएको र सबैले बुझ्ने तथा सरल संगीत भएकोले यस्तो गीतको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख सर्वेन्द्र खनालले हामी सबै प्रहरी हौँ भन्दै प्रहरीले पनि हाम्रा लागि काम गरोस् भन्ने अपेक्षासहित प्रहरीलाई सेवामा समर्पित रहने उत्प्रेरणा स्रष्टाहरुले प्रदान गरेको भन्दै प्रशंसा गर्नु भयो ।

यो जनचेतनामूलक गीतको रचना रमेशचन्द्र अधिकारीले गर्नु भएको हो भने संगीत भूपेन्द्र रायमाझीको रहेको छ । सो गीतलाई विजयनारायण मानन्धरले गाउनु भएको छ । कार्यक्रममा गायक मानन्धरले गीत गाएरै सुनाउनु भएको थियो ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव प्रोफेसर केदारनाथ शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, पूर्वप्रहरी प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा अन्य सर्वसाधारणको पनि उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई गीतका रचनाकार रमेशचन्द्र अधिकारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन एलिना दुलालले गर्नु भएको थियो ।