कङ्गोमा आठ जना शान्ति सैनिक मारिए

मुख्य समाचार विश्व

बेनी, कङ्गो, ३० कात्तिक प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भेगमा सैनिक कारबाहीका क्रममा संयुक्त राष्ट्रसंघमा आबद्ध आठ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको सुरक्षा परिषदले जनाएको छ ।परिषदका अनुसार मारिने सुरक्षाकर्मीमा तान्जानीयाका एक जना र मलावीका सात जना रहेका छन् ।

कङ्गोमा राष्ट्रसंघीय शान्ति सेनाको यो दोस्रो ठूलो क्षति हो । गत वर्ष १५ जना शान्ति सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको थियो । गत बिहीबार, मोनुस्को शान्ति सेनाका उपप्रमुख जनरल बर्नार्ड कोमिन्सले कङ्गोमा सक्रिय लडाकू समूह एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) का विरुद्धमा मङ्गलबार कङ्गोको सरकारी सेनासँग मिलेर संयुक्त सैन्य कारबाही गरिएको बताउनुभयो । जिहादी समूह एडीएफले कङ्गोका सर्वसाधारणमाथि बेलाबेला क्रुर हमला गरिआएको छ ।

कोमिन्सले बेनीबाट करिब २० किलोमिटर टाढाको किडीडीवेमा सैनिक कारबाही गरिएको जानकारी दिनुभयो । यो सहरमा करिब तीन लाख मानिसको बसोबास छ । “हाल किडिडीवे हाम्रो नियन्त्रणमा छ । यसक्रममा निकै हिंसात्मक सङ्घर्ष समेत भएको छ । अहिले, हामीले घाइते कङ्गोली सेना र शान्ति सेनालाई त्यहाँबाट उद्धार गरिरहेका छौं,” कोमोन्सले बताउनुभयो । बुधबारको भिडन्तमा आफ्ना चार सैनिकको ज्यान गएको मलावीको रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।

कोमोन्सले किडिडीवे एडीएफको महत्वपूर्ण र बलियो आधार इलाका रहेको बताउनुभयो ।मोनुस्कोमा हाल करिब १७ हजार सैनिक छन् र राष्ट्रसंघको यो सबैभन्दा ठूलो शान्ति अभियान हो । दोस्रो कङ्गोली युद्धका क्रममा स्न १९९९ मा स्थापित मोनुस्कोको वार्षिक बजेट करिब १ अर्ब १५ करोड डलर छ ।