हिंसापिडित महिलालाई १७ वर्षपछि नागरिकता

मुख्य समाचार समाज

पर्वत, २९ कात्तिक श्रीमान्को इन्कारीका कारण  पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र  पाउनुभएको छ  । परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै  विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको हो ।

पीडित परियारले आफू श्रीमान्बाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिनुभएको थियो  । उक्त निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ शर्मा र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटकपटक आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो । नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका बल्ल खुलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।  (रासस)