बीस लाख बिरुवा रोपियो

मुख्य समाचार समाज

काठमाडौँ, २७ कात्तिक सरकारले सञ्चालन गरेको ‘एक नागरिक एक फलफूल’ अभियानअन्तर्गत देशभर करीब २० लाख फलफूलका बिरुवा रोपिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले अभियानमा नागरिकले स्वतःस्फूर्त रुपमा फलफूलका बिरुवा रोपेको जानकारी दिनुभयो । सबै जिल्लामा अभियानअनुसार फलफूलका बिरुवा रोपिएका छन् ।

उहाँले भन्नुभयो, ‘‘जिल्लाबाट विवरण आउन थालेका छन् । अहिलेसम्मको विवरणमा करीब २० लाख बिरुवा रोपिएका छन् ।’’ वर्षभर चल्ने यस अभियानमा सबै नागरिकले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रोपिएका बिरुवाका जानकारीको विवरण प्रजिअले प्रधानमन्त्री कार्यालयमा पठाउने गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २३ गते सिंहदरवारमा लिची र एभोकाडोको बिरुवा रोपेर अभियान शुरु गर्नुभएको थियो ।  मुलुकलाई फलफूलबाट आत्मनिर्भर बनाउन सरकारले ‘एक नागरिक एक फलफूल’ अभियान शुरु गरेको हो । प्रवक्ता कुँवरले रोपिएका बिरुवा स्थानीय तहको समन्वयमा संरक्षण गरिने बताउनुभयो ।