राहदानी बनाउने बढे

मुख्य समाचार रोजगार

विदुर, २७ कात्तिक नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् ।

राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विदेश जाने युवा राहदानी बनाउन आउने क्रम बढेको बताउनुभयो । नयाँ आर्थिक वर्ष शुरु भएदेखि कात्तिकको तेस्रो हप्तासम्मको विवरणअनुसार जिल्लामै राहदानी बनाउनेको सङ्ख्या एक हजार ५३४ र सिफारिश लिएर जाने ८६२ गरी जम्मा दुई हजार ३९६ राहदानी बनेको छ । कार्यालयका अनुसार गत वर्ष चार हजार ९६९ वटा राहदानी जिल्लामै बनेको थियो । सिफारिश एक हजार ८८४ गरी जम्मा छ हजार ८५३ वटा राहदानी बनेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।(रासस)