राप्रपा एकीकरण भाडियो, थापा–राणा आरोप प्रत्यारोपमा

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, २७ कात्तिक, पार्टी एकीकरण प्रक्रिया बिथोलिएपछि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाबीच आरोप प्रत्यारोप सुरु भएको छ । एकता भाँडिनुमा दुबैले एक–अर्कालाई दोषी देखाएका छन् ।

सोमबारका लागि तय भएको एकीकरण आइतबार थापा र राणाबीचको एकान्त वार्तापछि एकाएक भाँडिएको थियो र राणासँगको वार्तापछि राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बोलाई अध्यक्ष थापाले एकता बिथोलिएको जानकारी गराएका थिए । बैठकमा थापाले चुनाव चिह्न र राजसंस्थाको विषयमा पहिला भएको सहमतिमा बखेडा झिकेर राणाले एकता बिथोलेको आरोप लगाए ।

तर, राणाले थापाको भनाइ अस्वीकार गर्दै थापाकै कारण एकता सम्भव नभएको बताएका छन् । ‘पार्टी एकीकरणका लागि डा. लोहनीजी (प्रकाशचन्द्र लोहनी) ले पाँच दिनको समय माग्नु भएको छ । उहाँलाई पनि समेट्नु पर्ने भएकाले समय दिऔँ भनेर मैले प्रस्ताव राखेँ, तर कमलजीले विमति जनाउनु भयो,’ राणाले भने, ‘सैद्धान्तिक विषयमा कुरा भएकै छैन, उहाँले भ्रम छर्नुभयो ।’

‘एकता महाधिवेशनबाट पारित नीति, विधान र गाई चुनाव चिह्न हाम्रो बटमलाइन हो,’ राप्रपा अध्यक्ष थापाले भने । यता राणाले भने राप्रपा प्रजातान्त्रिकले चुनाव चिह्न हलो हुनुपर्ने धारणा राख्दै आएको बताए । उनी एकता महाधिवेशले पारित गरेको सैद्धान्त्कि विषयमा विमति नरहेको भन्दै आफू एकताकालागि सकारात्मक भएको बताउँछन् आजको नयाँ पत्रिकाले समाचार लेखेको छ ।

दुबै पक्षको आरोप-प्रत्यारोपले एकता प्रक्रिया हाललाई बिथोलिएको छ भने भविष्यमा नयाँ शिराबाट वार्ता र छलफल सुरु भए मात्रै एकता संवाद अघि बढ्ने देखिन्छ ।

Loading...