गाउँपालिकाको एम्बुलेन्सले दियो स्थानीयलाई राहत

मुख्य समाचार स्वास्थ्य

सृष्टि सुनुवार, सोलुखुम्बु, २६ कात्तिक, जिल्लाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएसँगै स्थानीयले राहतको महसुस गरेका छन् । खिजीफलाटे स्वास्थ्य चौकीमा उपचार सम्भव नभएका विरामीलाई अन्य अस्पतालमा उपचारका लागि पुर्याउन गाउँपालिकाको एम्बुलेन्सले विरामी ओसारपसार गरेसँगै गाउँपालिकाबासीले सहज र खुशीको महसुस गरेका हुन् । आपतकालिन स्वास्थ्य समस्या भएका विरामीलाई जिल्ला बाहिर लग्नका लागि साधनको आवश्यकता पर्ने गरेकोमा सुपथ मूल्यमा गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराउने गरेको छ ।

गएको असोज दोस्रो साताबाट संचालनमा आएको एम्बुलेन्स सेवाबाट पछिल्लो तथ्यांक अनुसार २ दर्जन विरामी लाभान्वित भएको गाउँपालिकाकी उपाध्यक्ष सुशीला तामाङले जानकारी दिनुभयो । १० लाख १२ हजारको लागतमा दुर्गम भेगका नागरिकलाई मध्यनजर राख्दै गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको थियोे । गाउँपालिकाको ९ वटै वडामा सडकको ट्रयाक खुलेकाले २४ सै घण्टा सेवा उपलब्ध हुने र यसबाट नागरिकलाई सुविधा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । यसअघि सुत्केरी महिला, भीरबाट लडेका विरामी तथा गम्भीर खालका समस्या भई अप्रेशन गर्नुपर्ने विरामीलाई उपचारका लागि विभिन्न अस्पतालमा रेफर गरिए पनि साधनको अभावका कारण समयमै पुर्याउन नसक्दा अकालमै विरामीको ज्यान जाने गरेको थियो भने महङ्गो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न खिजीदेम्बाबासी बाध्य थिए । कम्तिमा हेलिकप्टर चार्टर गर्नका लागि १ लाख २० हजार रकम तिर्न पथ्र्यो । भनेको समयमा रकमको जोहो गर्न नसक्दा आफ्नो आफन्त गुमाउनु बाहेक अरु विकल्प थिएन । अहिले त्यो बाध्यता हटेको गाउँपालिका उपाध्यक्ष तामाङले बताउनुभयो ।

यसैबीच नागरिकलाई आर्थिक भार नपर्ने गरी एम्बुलेन्सको भाडादर निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । खिजीदेम्बा गाउँपालिकादेखि काठमाण्डौसम्म ८ हजार, खिजीदेम्बा गाउँपालिका वडा नं ५ बाहेक अन्य वडाबाट खिजीफलाटे स्वास्थ्य चौकीसम्म १ हजार, खिजीदेम्बा गाउँपालिका वडा नं ५ बाट खिजीफलाटे स्वास्थ्य चौकीसम्म ५ सय भाडादर तोकिएको छ । यस्तै अन्य गाउँपालिकाबाट काठमाण्डौसम्म विरामी लग्न परेमा १५ हजार भाडा तोकिएको गाउँपालिकाले जानकारी दिएको छ ।