जात्रैजात्राको टिजर सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, २४ कात्तिक, नेपाली सिनेबजारमा राम्रो व्यापार गर्न सफल कमेडी चलचित्र ‘जात्रा’ को सिक्वेलको रुपमा चलचित्र ‘जात्रैजात्रा’ बनेको छ । जसको टिजर शनिबार युट्युवमार्फत सार्वजनिक गरिएको छ । १ मिनेट २१ सेकेण्डको टिजरमा चारजना कलाकारहरुलाई परिचित गराइएको छ ।

‘जात्रा’ का कलाकारहरु विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झालाई निरन्तरता दिइएको छ भने नयाँ कलाकारको रुपमा दयाहाङ राई आएका छन् । फिल्ममा वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतका कलाकारहरु पनि रहेका छन् ।

काठमाडौँको व्यस्त बजार असनका व्यापारीहरुको कथा बोकेको ‘जात्रा’ ले व्यापारीहरुको जीवन पैसाका कारण कसरी अस्तव्यस्त हुन्छ र जीवन नै कसरी जात्राजस्तो बन्न पुग्छ भन्ने देखाइएको थियो । ‘जात्रा’ को भाग दुईको रुपमा आएको ‘जात्रैजात्रा’ मा पनि सोही कथालाई निरन्तरता दिइएको टिजर हेर्दा थाहा पाइन्छ । सानो लोभले कसरी परिबन्धमा परिन्छ र त्यो जालोबाट उम्कन के–केसम्म हर्कत गर्नुपर्छ भन्ने यो फिल्मले बताउने अनुमान लगाउन सकिन्छ । केही गर्दा नभएपछि मर्न हिडेका तीन फ्रस्टेड व्यापारी विपिन कार्की, रविन्द्रसिंह बानिया र रविन्द्र झा टिजरमा देखिएका छन् ।

प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको यो चलचित्र आगामी फागुन १७ अर्थात् २०१९ को मार्च १ मा रिलिज हुने बताइएको छ । यो चलचित्रका कार्यकारी निर्माता रविन्द्रसिंह बानिया हुन् भने निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् ।

Loading...