घरघरमा खानेपानी सुविधापछि स्थानीयवासी हर्षित

मुख्य समाचार समाज

बेझाड, २२ कात्तिक बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ खानेपानी खोजेर जीविका चलाएका सिलुवा माथिल्लोथरका स्थानीयवासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् ।

वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यहाँका स्थानीयवासीलाई बिहान उठेपछि अरू कामकाजभन्दा खानेपानीको जोहो गर्नेमा निकै पिरलो पर्ने गथ्र्यो । पूर्वखोला गाउँपालिका–१ माथिल्लोथरका स्थानीयवासीले लिफ्टिङ प्रणालीबाट सहज रुपमा खानेपानीको उपभोग गर्न पाएका हुन् । स्थानीयवासीको अथक प्रयास र मिहेनतपछि घरघरमा पानी आएको हो ।

खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुगेको छ । झिसमिसेमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या हटेको स्थानीयवासी प्रेमकुमारी बताउनुहुन्छ ।

“ पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्र्यो, अहिले घरमै धारा जडान भएकोले जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्ने समय अरु काममा लगाउन पाइएको छ ”, उहाँले भन्नुभयो । सो आयोजनामार्फत यहाँका ६० घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनाबाट करीब तीन सय लाभान्वित भएका छन् । गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी पानी वितरण गरिएको हो । सरकारको रु ४२ लाख, स्थानीयवासीको जनश्रमदान ११ लाख गरी रु ५३ लाख बराबरको लागतमा आयोजना सम्पन्न भएको जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनाका संयोजक मानबहादुर बयम्बु बताउनुहुन्छ । आव २०७०÷७१ बाट आयोजना निर्माण कार्य शुरु भएको थियो । (रासस)

Loading...