मदन पुरस्कार विजेता निहारिकालाई भोजपुरमा सम्मान नै सम्मान

मुख्य समाचार विषेश समाचार साहित्य

डिल्लीरमण सुवेदी, भोजपुर, २२ कात्तिक, २०७४ को मदन पुरस्कार विजेता नीलम कार्की निहारिकालाई भोजपुरबासीले उच्च सम्मान दिएका छन् । ‘योगमाया’ उपन्यासबाट मदन पुरस्कार पाएपछि पहिलो पटक भोजपुर पुगेकि निहारिकालाई स्थानीय विभिन्न संघ, संस्था तथा सरकारी निकायहरुले सम्मान गरेका हुन् ।

भोजपुरमा आयोजित लोकवार्ता परिषद् नेपालको आठौँ राष्ट्रिय सम्मेलन उद्घाटनको अवसरमा कात्तिक १३ गते निहारिकालाई भोजपुर नगरपालिकाले दोसल्ला ओढाएर सम्मान गर्यो । नगरपालिकाका मेयर कैलाश कुमार आलेले निहारिकाले भोजपुर र योगमायाको नाम देशविदेशमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान अर्पण गरे । योगमायालाई सम्झिदै गर्दा अब निहारिकालाई पनि सम्झनु पर्ने उनले उल्लेख गरे । भोजपुरले नदेखेको कुरा पनि निहारिकाले देशविदेशमा देखाउन सफल भएकोले समग्र भोजपुरको तर्फबाट आफूले सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको पनि मेयर आलेले बताए ।

सोहीअवसरमा स्थानीय तीन संस्थाले पनि निहारिकालाई सम्मान अर्पण गरे । नारी साहित्य प्रतिष्ठान भोजपुरकी संयोजक कविता राई, महिला मानव अधिकार रक्षक संजालकी सुशीला तामाङ, सामुहिक वचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष सम्झना प्रधान तथा रामकुमारी प्रधान र दीपा सुवेदीले संयुक्त रुपमा निहारिकालाई माला, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

यसैगरी भोजपुरको षडानन्द नगरपालिकाले पनि निहारिकालाई सम्मान अर्पण गरेको छ । लोकवार्ताको कार्यक्रमकै अवसर पारेर कात्तिक १४ गते नगरपालिकाका मेयर वीरबल राई र उपमेयर मेरिका राईले दोसल्ला, माला, प्रमाणपत्र र रुद्राक्षको ब्रासलेटसहित सम्मान गरे । दिङ्गला क्षेत्रकै क्रान्तिकारी महिला योगमायाको विषयमा उपन्यासमार्फत योगमाया, दिङ्गला, भोजपुर र समग्र देशकै नाम रोशन गर्न मद्दत पुर्याएको भन्दै नगरपालिकाले सम्मान गरिएको हो ।

यता आबाल ब्रह्मचारी बालागुरु षडानन्द सीताराम गुठीका संयोजक कृष्णप्रसाद पौडेल ( प्रकाश) ले पनि बालागुरु षडानन्दको तस्विर अर्पण गरेर निहारिकाको सम्मान गरे । दिङ्गला क्षेत्रको नाम राख्न र देशमा शिक्षाको ज्योति फैलाउन बालागुरु षडानन्दले उल्लेख्य भूमिका खेलेको र त्यसलाई राज्यले चिन्न नसकेको बताए । अध्यक्ष पौडेलले षडानन्दको योगदान पनि देशको लागि कम नभएको उल्लेख गरे । जसरी योगमायाको विषयमा अध्ययन र अनुसन्धान भई उनको योगदान चर्चामा आयो त्यसरी नै बालागुरु षडानन्दको योगदानको अध्ययन र प्रचारप्रसारमा सहयोग गर्न उनले सबै विद्वानहरुलाई आग्रह पनि गरे ।

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेलाई आफ्नो पुस्तक ‘योगमाया’ हस्तान्तरण गर्दै नीलम कार्की निहारिका

भोजपुरले देखाएको कृतज्ञता, माया र सम्मानप्रति सम्पूर्ण भोजपुरबासीमा निहारिकाले आभार व्यक्त गरेकि छन् । आफूलाई गरेको सम्मान योगमायालाई सम्मान गरेको अनुभूत भइरहेको उनले बताइन् । आफू मार्फत योगमायाको योगदानको कदर भएको महसुस गरेको उनले बताइन् । आफूलाई योगमायाले नै यति धेरै सम्मान दिएको भन्दै योगमायाप्रति आभार ब्यक्त गरिन् । देशको सामाजिक र राजनीतिक परिवर्तनकालागि योगमायाको योगदान अतुलनीय रहेको पनि उनले बताइन् ।

आफ्नो पुस्तक ‘योगमाया’ षडानन्द नगरपालिकाका मेयर वीरवल राईलाई हस्तान्तरण गर्दै नीलम कार्की निहारिका

यसअघिका अध्ययन र अनुसन्धान नै आफ्नो उपन्यासको आधार भएको र थप अध्ययन र अनुसन्धानले यो पूर्ण भएको पनि उनले बताइन् । पाल्पामा जन्मिएकी आफू योगमायाले तानेर नै भोजपुरका दुर्गम गाउँहरुसम्म पुगेर अनुसन्धान गर्न पाएको उनले बताइन् । योगमायाको नाममा विश्वविद्यालय खुल्ने, हुलाक टिकट प्रकाशन गर्ने लगायतका काम अघि बढिसकेको उल्लेख गर्दै उनले योगमायाको सम्मान र पहिचान हुन थालेको उल्लेख गरिन् । योगमायाका कारण नै आफू भोजपुरसँग जोडिएको उल्लेख गर्दै उनले यसले निरन्तरता पाउने र भोजपुरको विकासमा सहयोग गर्न सदैब तत्पर रहेको बताइन् ।

निहारिकाले ‘योगमाया’ नामक उपन्यास कृति मार्फत वि.सं. २०७४ को मदन पुरस्कार प्राप्त गरेकि थिइन् । उनलाई गत असोज २५ गते मदन पुरस्कार गुठीले एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार अर्पण गरेको थियो ।

Loading...