‘शान्ता’को अङ्ग्रेजी संस्करण सार्वजनिक

मुख्य समाचार साहित्य

काठमाडौँ, २१ कात्तिक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको उपन्यास ‘शान्ता’को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्म जयन्तीका अवसरमा विराज समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा अङ्ग्रेजी संस्करण लोकार्पण गर्नुहुँदै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अङ्ग दान गर्ने शान्ताको दर्शन के हो त्यो पाठकसमक्ष आउनुपर्ने बताउनुभयो ।

“भोजपुरमा योगमायाले कुनै दर्शन जानेर अरुण नदीमा जलसमाधि लिएकी थिइनन्, योगमायाको भित्रबाट आएको भावनाले उनका अनुयायीले समेत जलसमाधि लिएका थिए, त्यस विषयमा लेखिएको पुस्तकले यसै वर्ष मदन पुरस्कार पाएको छ, यस्तै शान्तालाई दर्शन थाहा नहोला तर उहाँभित्र पनि दर्शन छ, त्यो पाठक समक्ष आउनुपर्छ”, उहाँले भन्नुभयो ।जीवन्त घटनामा आधारित भएर लेखिएको शान्ता उपन्यास नेपाली भाषा साहित्यकै उपलब्धिका रूपमा रहने संस्कृतिविद् जोशीले सुनाउनुभयो । नेपालका वरिष्ठ चिकित्सक आफ्ना मामाका लागि मिर्गौला दान गरेर शान्ताले सीता र भृकुटीको जत्तिकै ऐतिहासिक काम गरेको उहाँको भनाइ थियो ।

पुस्तकका लेखक दाहालले अङ्ग्रेजी संस्करण बिक्रीबाट आएको रकम समाजको कोषमा राखिने बताउनुभयो । पुस्तकका अनुवादक नारायण घिमिरेले नेपालीमा भएको भाव झल्किने गरी अङ्ग्रेजी अनुवाद गरिएको जानकारी दिनुभयो । अङ्ग्रेजी संस्करणको समीक्षा गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विषयका उपप्राध्यापक केशव सिग्देलले उपन्यासकी नायिकामाथि लेखकीय न्याय हुन नसकेको टिप्पणी गर्नुभयो ।

सो अवसरमा कविहरु कलानिधि दाहाल, सोझो गाउँलेलगायतले कविता वाचन गर्नुभयो । कार्यक्रममा कलाकार लक्ष्मी गिरी, कार्यक्रम संयोजक दिनेश मगरलगायतले पुस्तकले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । सो अवसरमा समाजले कोष वृद्धिका लागि भन्दै सांस्कृतिक झाँकीसहितको देउसीभैलो कार्यक्रमसमेत गरेको थियो । समाजको कोषमा हाल रु १० लाख रहेकामा यसै वर्ष रु २० लाख पुर्याउने लक्ष्य राखिएको सो अवसरमा जानकारी गराइयो ।

 

Loading...