लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविता

मुख्य समाचार विषेश समाचार साहित्य

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब, जलकिनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादुगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन्, मूक पागलझैँ
फूलझैँ एक किसिमका चकोर–फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न !
जुनेली गङ्गाकिनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छौ वाचाल !
तिम्रो शुद्ध गणितसूत्र हरहमेसा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिक
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफसिवाय देख्न सक्तैनौँ,
म उसमा हेलेन र पद्यिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो !
तिम्रो संसार ठोस छ !
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ !
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मिठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरा छ बेज काँढाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल !
जरुर साथी !
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

म माघको ठन्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भस्मेश्वरबाट फर्कँदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !
एक सुनसान औँसीले मलाई निसासा भएर
म प्रलय–वेदनाले उफ्रेँ ।
मूर्खहरुले मलाई त्यस बेला ठिँगुरा हालेर राखे !
म तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरुले,
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर,
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, ”ए पागल, तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !

मैले नवाबको मदिरालाई खुन भनेको छु,
छिमेकी रन्डीलाई लास भनेको छु !
राजालाई गरिब,
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई, तर,
सातौँ आसमानसम्म,
तारिफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरा महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम !
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौँ,
उहाँ म देख्दछु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलटपुलट,
साथी !
तिम्रो विश्व, मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफातपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दिवाना !

निर्लज्ज नेतृत्वको नीरस रसनाको
रन्डीको नाच हेर !
जनअधिकारको डँडाल्नो भाँच हेर !
जब भँगेराटाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई
जाली झुटले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केका गोलझैँ राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि साथी !
तब हुन्छन् ठाडा मेरा रौँ, रौँ
गर्गनका सर्पकेशझैँ, मेरा जिस्क्याइएका
रौँ, रौँ !
जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो,
तब मेरो मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
स्वर्गबाट चट्याङ परेको दिनझैँ
जब मानवले मानवलाई मानव ठान्दैन, साथी !
तब कडकडाउँछन् मेरा बत्तीसदन्ते बङ्गारा,
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि,
प्रकोपको लाललाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको लप्काले झैँ हेर्दछु, साथी !
उफ्रिन्छन् मेरा कलपुर्जा,
खलबल ! खलबल !
तुफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग, साथी !
बडवानलझैँ बडवानलझैँ !
म वन खाने आगोझैँ बहुला हुन्छु !
बहुला, साथी !
काँचै निलुँझैँ विश्वविशाल !
जरुर, साथी !
म सुन्दर–चकोर, असुन्दर–फोर !
कोमल–क्रूर
चिडिया, स्वर्गाग्नि–चोर
तुफानपुत्र
पागल ज्वालामुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !
– (लक्ष्मी कवितासङ्ग्रहबाट)

Loading...