प्रविधिमैत्री बन्दै इलामकाे जीतपुर मावि

मुख्य समाचार विषेश समाचार शिक्षा

जीतपुर (इलाम), २० कात्तिक, जिल्लाकाे देउमाई नगरपालिका-९ मा रहेकाे जीतपुर माध्यमिक विद्यालय पछिल्लाे समय प्रविधिमैत्री बन्दै गएकाे छ । स्मार्ट कक्षा सञ्चालन, स्मार्ट बाेर्डकाे प्रयाेग, शिक्षकलाई पहिलाे चरणमा प्राविधिक शिक्षण तालिम र सीसीटिभीकाे जडानसँगै विद्यालय प्रविधिमैत्री बनेकाे हाे ।

अागामी मंसीर २ गतेबाट सूचना र प्रविधिमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु हुने भएकाे छ । जसकालागि अावश्यक व्यवस्था मिलाइ सकिएकाे विद्यालयका प्रधानाध्यापक गाेविन्द बरालले बताए । उनकाअनुसार कार्यक्रम प्रत्येक दिन बिहानकाे ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ । जम्मा ९० दिन याे कार्यक्रम सञ्चालन हुने र जम्मा समय १८० घण्टा रहने उनले जानकारी दिए ।

प्रअ बरालले भने, “याे कार्यक्रमकाे समाप्तिपछि सबै शिक्षकमा मल्टिमिडियाकाे प्रयाेग गरी शिक्षण सिकाइ सहजीकरण सञ्चालन गर्न, कक्षाकाेठालाई सूचना तथा प्रविधि मैत्री बनाइ शिक्षण गर्न, स्मार्टवाेर्डकाे प्रयाेग गर्न तथा इमेल र इन्टरनेट प्रयाेग गरी शिक्षण सिकाइ सहजीकरणलाई प्रभावकारी बनाउन सक्ने प्रारम्भिक सक्षमता हासिल हुनेछ ।”

याे कार्यक्रमकाे समाप्तिपछि विस्तृत समीक्षा गरिने र अन्य प्राविधिक अभाव महसुस भएमा पुन: अर्काे कार्यक्रम मार्फत समस्या समाधान गर्ने गरी व्यवस्था मिलाइने पनि उनले बताए ।

यसैगरी विद्यालयका सारा गतिविधिहरू कार्यकक्षबाटै अनुगमन गर्ने गरी विद्यालयमा सीसी क्यामेरा पनि जडान गरिएकाे छ । यसबाट शिक्षक र विद्यार्थीका क्रियाकलाप अनुगमन गर्न सहज भएकाे प्रअ बरालले बताए । कक्षा शिक्षण पनि अब छिट्टै स्मार्ट बाेर्डमार्फत सञ्चालन गर्ने तयारी भइरहेकाे छ । यसअघि नै कम्प्युटर शिक्षाको व्यवस्था भने विद्यालयले गरिसकेको छ ।

बराल गत असोज ३ गते मात्रै प्रधानाध्यापकमा नियुक्त भएका हुन् । उनी प्रअ बनेसँगै विद्यालयले प्रविधिकाे प्रयाेग गरी शिक्षण र ब्यबस्थापनमा फड्को मार्ने प्रयास गरेकाे छ ।

Loading...