लगातार १ सय २६ घण्टा नृत्य गरेर विश्व कीर्तिमान राख्ने बन्दना नेपालको घोषणा

आजको म्यूजिक मुख्य समाचार विषेश समाचार

काठमाडौं, १९ कात्तिक । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका–९, मुर्तिढुङ्गामा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि नृत्य गर्ने घोषणा गरेकी छिन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफु तयार रहेको विश्वास दिलाइन् ।

नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘सांस्कृतिक’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाइन् । उनले भनिन्, ‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ, हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो, हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आफैँमा ढुक्क छु, तर पनि सम्पूर्ण नेपालीहरुको आशीर्वाद लिएर यस कर्ममा होमिन चाहन्छु र मलाई यो उद्देश्य पूरा गर्नको लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा पनि गर्दछु ।’

विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमा अवस्थित् चेल्सी ईन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले आफमा सानैदेखि गीत, संगीत र नृत्यमा विषेश रुची रहेको पनि सुनाइन् । बन्दनाले थपिन्, ‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें, अहिले नृत्य कक्षा खोलेर बसेकी छु, मैले प्रयास गरेकी छु, म सफल हुन्छु ।’

बन्दनाले भनिन्, ‘यूवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक तथा दोहोरी गीत एवम् नेपाली लोक संगीतप्रतिको वितृष्णाप्रति मेरो यो प्रयास योग्य सावित हुने आशा लिएकी छु, नेपाली लोक संस्कृतिलाई विश्वमा चिनाउने र नेपाललाई विश्वमा परिचित गराउने एउटा भगिरगथ प्रयासमा साथ, सहयोग, हौसला र माया गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।’

आगामी मंसिर ७ गतेदेखि १२ गतेसम्म राजधानीको बत्तिसपुतलीस्थित् बिग फुडल्याण्डमा सम्पन्न हुने कार्यक्रममा बन्दना नेपालले पूर्वको मारुनी, नौमती बाजादेखि पश्चिमको देउडा गीतहरुमा समेत नृत्य प्रस्तुत गर्ने कार्यक्रमका संयोजक तथा बन्दनाका पिता राम नेपालले बताए । कार्यक्रममा बन्दनाका पिता राम नेपाल, समाजसेवी विवेक शर्मा र उक्त कार्यक्रम आयोजनाका सह–संयोजक सन्तोष लामालगायतले शुभकामना दिएका थिए ।

Loading...