३५ वर्षदेखि मिथिला कलामा

कला/संस्कृति विषेश समाचार

जमुनावर्षा शर्मा   काठमाडौँ, १८ कात्तिक  महोत्तरीका चन्दे्रश्वर पाण्डे ससुराली भारत जाँदा ससुराबाट एउटा सीप सिकेर आउनु भयो ।  त्यो उहाँको जीविकोपार्जनका लागि मुख्य आधार बन्न पुग्यो ।

पैँतीस वर्षदेखि स्वयम्भूमा उहाँले मिथिला कलाको व्यापार  गर्दैआउनुभएको छ ।  महोत्तरी, पर्सा देवाध–१ का पाण्डे १६ वर्षका उमेरमा हातमा मिथिला कलाको सीप बोकेर काठमाडौँ आउनुभएको हो  । शुरुका दिन उहाँले काठमाडौँको मखन टोलमा बसेर मिथिला कलाको पेशा अँगाल्नुभयो । “तत्कालीन समयमा  एक सुका , एक मोहरमा मेरा कला बिक्थे”, उहाँ भन्नुहुन्छ, “ २३÷२४ सालतिर सुका मोहरको पनि महत्व थियो, धेरै कुरा आउँथ्यो, त्यो बेला त्यही धेरै थियो ।”

अहिले जमाना बदलिएको छ  । बनाउँदै गरेको हात्तीको बुटटको धागो काट्दै  उहाँले  भन्नुभयो, “ऊ जमानाको कुरा त हजुरलाई पत्याउन गाह्रो हुन्छ,  धेरै व्यवस्था बदलिए । राजनीतिक परिवर्तन भए । मुलुकको समृद्धि भने खासै देख्न पाइएन । ” उहाँले जनयुद्धमा बन्दूकका कुरादेखि राजतन्त्र अन्त्यसम्मका विभिन्न चरणका राजनीतिक घटनाक्रमलाई नियाल्नुभएको छ  तर देशको विकास र समृद्धि जनताले सोचेजस्तो नभएको उहाँको गुनासो छ ।

हाल स्वयम्भू भगवान्पाउ निवासी उहाँले तीन वर्षअघि श्रीमती गुमाउनुभयो । लामो समय वीर अस्पतालमा श्रीमतीको उपचार गराउनुभयो  तर रोगको पहिचान भएन ।  अन्ततः उहाँको मृत्यु भयो ।  पत्नी वियोगले चन्द्रेश्वरमा निराशा छायो । फेरि जिन्दगी त बाँच्नु नै थियो ।  जीवन सङ्गिनी गुमाए पनि चार छोरा साथमै थिए । दशभन्दा बढी नातिनातिनाका हजुरबुबा उहाँले आफूलाई कमजोर ठान्नुभएन । उही दैनिकी रोज्नुभयो  । स्वयम्भूको उकालामा रुखमुनि कला सामग्री टाँगेर उहाँ कलाभित्र आफ्नो जीवनको सार्थकता खोज्दै बस्नुभयो ।

“यसरी बसेको पनि ३५ वर्षभन्दा बढी नाघेछ”, उहाँले भन्नुभयो  । विसं २००७ सालमा जन्मनुभएका उहाँले नागरिकतामा भने बल्ल ५६ वर्षको रहेको उल्लेख गर्नुभएको छ ।   आजकाल ब्यवसायबाट उहाँमा उति सन्तुष्टि छैन । उहाँ भन्नुहुन्छ, “व्यापार उति छैन  तर कलामा रमाउने बानी परेर होला विकल्प खोज्न मन लाग्दैन,  अहिले देशभित्रबाट पनि घुम्नेहरु धेरै आउँछन् । व्यापारमा भने प्रतिस्पर्धा बढेको छ । पहिले जस्तो व्यापार छैन ।”

विभिन्न स्वरुपका कलाकृति उहाँले सेतो कपडामा धागो र सियोको माध्यमबाट उतार्दै आउनु भएको छ । कलामा जीवन देख्ने उहाँ खुशीका धेरै रङ विभिन्न धागाबाट बनाएका कलाकृतिमा नै ढाल्ने गर्नुहुन्छ । कलाको पूर्ण स्वरुपमा उहाँ रमाउनुहुन्छ  ।  उहाँ देवीदेवतादेखि बुद्ध, हात्ती, फूल, हिमाललगायत डेढ दर्जन बढी कलाकृतिलाई कपडामा उतार्नुहुन्छ । कलाको मूल्य रु दुई  सयदेखि तीन हजारसम्म छ । उहाँ ग्राहकको रुचिअनुसारका कला तयार गर्नुहुन्छ ।

बाटो हिँड्दा हिँड्दै धेरैले कलाप्रति चासो राख्छन्, सोध्छन् । कति सिकेर पनि जान्छन् । उहाँले कला सिक्ने मन भए एकैछिनमा सिक्न सकिने बताउनुभयो । धागो, सियो, रिङ, रङ, चक र कपडा यसलाई चाहिने सामग्री हुन् । “यसलाई बनाउन सामाग्री खासै महँग्रो पर्दैन तर मेहनत चाहिन्छ”,  उहाँले भन्नुभयो ।

उहाँका काठमाडौँमा दुई छोरा छन् भने एक छोरा महोत्तरी गाउँमै र एक  पोखरामा ट्याटु हान्ने व्यवसाय संलग्न छन् । सिर्जनामा खुशी लुकेको हुन्छ भन्ने पाण्डे स्वस्थ जीवनका लागि कला सहयोगी हुने विचार राख्नुहुन्छ । जीवनका उत्तराद्र्धतिर आए पनि समय र शरीरले साथ दिएसम्म मिथिला कलामै रमाउने उहाँको सोच छ । जीवनको अधिकांश समय बिताएको ठाउँप्रति उहाँले भन्नुभयो “ स्वयम्भूका यी बाँदर, यी ढुङ्गामाटो र यी रुख सबैसँग प्रेम छ मेरो, कलासँग जत्तिको प्रेम छ, मलाई यो ३५ वर्षभन्दा बढी बिताएको यो ठाउँको पनि उत्तिकै प्रेम छ ।”