सय वर्षमा पनि कुलो निर्माण अधुरै

मुख्य समाचार समाज

शुरबहादुर सिंह   – जुम्ला, १७ कात्तिक सुन्दा अचम्म लाग्न सक्छ तर जुम्लामा निर्माण शुरु गरिएको एक शताब्दीपछि मात्र एउटा कुलो निर्माण भएको पाइएको छ । साविकको कुडारी गाविस ४, ५, ६ र ७ वडा जोड्ने, हालको तिला गाउँपालिका–४ जुम्लाको झारखेत सिँचाइ कुलो निर्माण कार्य शुरु भएको एक शताब्दीभन्दा बढी अवधि लगाएर निर्माण भएको पाइएको हो ।

विसं १९६० मा निर्माण शुरु गरिएको उक्त कुलो १०३ वर्षाको अवधिमा सम्पन्न भएको झारखेत सिँचाइ कुलो निर्माण समितिका अध्यक्ष वीरबहादुर सिंहले राससलाई बताउनुभयो । “विसं १९६० मा साइमल शाही राजाले कुलो निर्माण शुरु गरेका थिए” उहाँले भन्नुभयो, “केही भाग खने पनि सबैभन्दा जटिल भाग ‘धादुन’ को भीर निर्माण शुरु भएको १०३ वर्षपछि मात्र काटेर अघि बढ्न सकियो ।”

उहाँले अगाडि भन्नुभयो, “१९७० सालमा यहाँका रणवीर शाहीले दाङका खन्याल जातिलाई ल्याएर कुलो निर्माणको प्रयास गरेका थिए भने १९८० सालमा ठेणेनाथ, पृथ्वीनाथ योगीले कुलो खन्न गरेको प्रयास सफल हुन सकेन ।” विसं.      २०४०÷४५ मा रावतवाडा गाउँका मोतीलालनाथ, दलनाथ, खाम्मनाथ, रामनाथ योगीले प्रयास गरे पनि ‘धादुन’ को अप्ठ्यारो भीर कटाउन नसकेको उहाँले बताउनुभयो । “हामीले विसं २०५३ देखि २०६३ सम्म श्रमदान गर्यौँ” सिंहले भन्नुभयो, “अप्ठ्यारो भीर काटेर बल्ला कुलो निर्माण गर्न सफल भयौँ ।”

उहाँले आफ्नो नेतृत्वमा साँपुल्ली गाउँका जङ्गु शाही, शेरबहादुर, दलबहादुर, हरिबहादुर, हंशबहादुर, दलवीर, नन्दबहादुर, मानसिंह, प्रदीप, नरवीर, गोर्ख, चक्रबहादुर शाही, मोहन हमाल र रावतवाडा गाउँका गम्भीरनाथ, पृथीमलनाथ, गङ्गानाथ, धनवीरनाथ, लालचन्द्रनाथ, धननाजे, परेनाथ, हंशनाथ, गोरेनाथ योगी, फागुने गिरी, आदिचन्द्र चौलागार्इं, नन्दकृष्ण उपाध्याय र लक्ष्मीप्रसाद चौलागार्इंको सहयोगमा निरन्तर १० वर्ष श्रमदान गरी कुलो निर्माण गरिएको बताउनुभयो ।

अध्यक्ष सिंह भन्नुहुन्छ, “सो कुलोमा ३२ हजार जनाको श्रमदान परेको छ ।  रु एक करोड १२ हजार बराबरको श्रमदानबाट कुलो निर्माण हुन सक्यो ।” उहाँका अनुसार ४०० मुरी जमीन सिँचाइ हुने गरी बनेको चार किमी कुलोबाट हाल करीब ३५१ घरधुरीले लाभ लिँदै आएका छन् ।

श्रमदानमा बनेको कुलो बजेट आउँदा विवादित

कुलो निर्माण अवधिमा नेपालमा सशस्त्र विद्रोह चलिरहेको थियो । काम गर्ने सहज वातावरण थिएन । विद्रोही पक्षभन्दा सरकारी पक्षबाट ठूलो डर हुन्थ्यो । धेरै दिन काम अवरुद्ध भएपनि कुलो निर्माणमा भने कसैको विमति नभएको अध्यक्ष सिंहले बताउनुभयो ।

समितिका सदस्य हंशबहादुर शाही भन्नुहुन्छ, “निर्माण कार्यमा विद्रोही पक्षले समेत साथ दियो । सरकारी पक्षको उपस्थिति हुने सहज अवस्था थिएन । १० वर्षसम्म निःशुल्क कुलो निर्माण हुँदा हरेकले स्वतःस्फूर्त काम गरे । एकअर्काको सहयोगी बने । सामूहिक जोश पनि त्यत्तिकै रह्यो । घन, बेल्चा, सब्बल, गैँती र कोदालीको साहरामा भीर, पाखापखेराहरु भत्काइयो ।”

स्थानीय दलबीर शाही १० वर्ष लामो समयसम्म सबैले एकजिुट भएर काम गरेकोे बताउनुहुन्छ । रोटी र पानी खाएर बडो रमाइलोका साथ साँपुल्ली र रावतवाडा गाउँवासीले श्रमदान गरेका थिए । सामूहिक एकता र बलले मात्र त्यो जटिल काम पनि सहजै सम्पन्न गर्न सकिएको उहाँले बताउनुभयो ।

विसं २०६४ मा वल्र्डभिजन क्षेत्र विकास कार्यक्रम जुम्लाबाट कुलोको कमसल स्थानमा सिमेण्ट लगाउन नगद र जिन्सी गरी रु १४ लाख बजेट आयो । बजेट आउँदा श्रमदान गर्ने दुवै गाउँवासी कुलो पक्की बनाउन पाइने कुराले खुशी भए । काम पनि गरे । ज्याला वितरणको समयमा भने विवाद आउँदा केही असजिलो भएको थियो ।

कुलो निर्माणमा बजेट खर्च अपारदर्शी भएपछि विवाद शुरु भएको समितिका अध्यक्ष सिंहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “म अध्यक्ष छँदै समितिका जिम्मेवार पदाधिकारीबाट रकम तलमाथि भयो । प्रष्ट हुन खोज्दा विवाद शुरु भएपछि म त्यहाँबाट बाहिरिए ।”

“कसैले काट्न नसकेको पहाड छिनालेर हामीले कुलो अघि त बढायौँ, तर यो लक्ष्यविन्दुमा पुगेको छैन”, अध्यक्ष सिंहले भन्नुभयो, “बाँध बाधेको नुवाकोट गाउँदेखि रावतवाडा हुँदै साँपुल्ली गाउँको बालु कुनासम्मको छ किलोमिटर कुलो निर्माण गर्ने लक्ष्य पूरा भएको छैन, त्यसलाई पूरा नगरेसम्म कुलो पूर्णरुपमा सम्पन्न भएको मान्न सकिंदैन ।”(रासस)

Loading...