व्यावसायिक रुपमा गाईपालन

रोजगार विषेश समाचार

पोखरा, ११ कात्तिक  झण्डै १७ वर्षअघि काञ्जी हाउसबाट एउटा गाई लगेका बाघमाराका अगुवा कृषक शोभाखर भण्डारीको गाई फार्ममा अहिले ४८ गाई र २८ बाच्छी छन् । युवा जस्तै जोशीला ६७ वर्षीय भण्डारीको दैनिकी रोजगारीका खोजीमा विदेशिएका युवाका लागि अनुकरणीय बनेको छ । पोखराको विरौटास्थित काञ्जीहाउसबाट भण्डारीले स्थानीय जातको बाच्छी ल्याउनुभयो । त्यस समयमा उहाँले बाच्छी छोपिदिनेलाई रु दुई सय तथा बाघमारासम्म ल्याएको रु १५० गाडी भाडा तिर्नुभयो । पोखरा महानगरपालिका–३३ मा गाई फार्म सञ्चालन गर्दै आउनुभएका भण्डारी गाईपालक किसानका रुपमा चिनिनुभएको छ ।

“स्वदेशमा पर्याप्त सम्भावना भए पनि पहिचान गर्न नसक्दा नेपालीले विदेशमा दुःख पाउने गरेका छन्,” उहाँले भन्नुभयो । झण्डै दुई दशकअघि बाघमारामा गाईपालनतर्फ सर्वसाधारण आकर्षित बन्दै गरेको अवस्थामा पशुसेवा कार्यालयको अनुदान सहयोगमा कृषकले बहर पाल्नका लागि समूह गठन गरेको भण्डारीले सुनाउनुभयो । सो समूहमा आवद्ध भण्डारीले तत्कालीन समयमा समूहको शेयर सदस्यका लागि रु तीन सय तथा बहरको खुराकका लागि मासिक रु २५ तिर्नुभएको थियो ।

भण्डारीलाई उहाँकी श्रीमती चन्द्रमायाले निरन्तर सहयोग गर्दैै आउनुभएको छ । भण्डारी दम्पतीको प्रत्यक्ष रेखदेखमा सञ्चालन भइरहेको सो फार्ममा आठ जनाले रोजगारी पाएका छन् । उहाँले गाईपालनबाटै पारिवारको पालनपोषण र छोराछोरीलाई शिक्षा दिक्षा दिँदै आउनुभएको छ । उहाँका छोरा ढाकारामले रसायन शास्त्रमा विद्यावारिधि गरिसक्नुभएको छ । भण्डारीले झण्डै ४० रोपनी जग्गामा तरकारीखेती समेत गर्दैआउनुभएको छ ।

उहाँले हाल दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आउनुभएको  छ । उहाँले भगवती चौतारा दूध सङ्कलन केन्द्र, मारवाडी सेवा भोजनालय र देउराली होटेलमा दूध बिक्री गर्दै आउनुभएको छ । “माग अत्याधिक छ, पूरा गर्न सकेको छैन,” भण्डारीले भन्नुभयो । एउटा गाईको सरदर आयु २३÷२४ वर्ष हुने गरेको अनुभव सुनाउँदै भण्डारीले २१ बेतसम्म ब्याउने गरेको बताउनुभयो । दूधको मूल्य समयानुकूल समायोजन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । दूधको मूल्य दुग्ध विकास बोर्डले निर्धारण गर्छ । व्यवसायिकताका नाममा कागजी प्रक्रिया मिलाएर गैर कृषकले अनुदान लिने क्रमलाई अन्त्य गर्दै राज्यबाट प्रदान गरिने अनुदान एवं अन्य सेवा सुविधा वास्तविक कृषकले पाउनुपर्नेमा भण्डारी जोड दिनुहुन्छ ।