धार्मिक तीर्थस्थल थानीमाई मन्दिर पुर्ननिर्माण

पर्यटन मुख्य समाचार

दमौली, १० कात्तिक २०७२ सालको भूकम्पबाट क्षति पुगेको तनहुँको भानु नगरपालिका–७ मा रहेको पर्यटकीय धार्मिक तीर्थस्थल थानीमाई मन्दिरको पुनःनिर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको हो ।

भूकम्पबाट मन्दिरमा क्षति पुगे पनि २०७४ साल असारदेखि पुनःनिर्माणको काम शुरु भएको थानीमाई मन्दिर व्यवस्थान तथा संरक्षण समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । पुनःनिर्माण गरिएको मन्दिरमा तीन ढोका, एक झ्याल र एक आँखीझ्याल निर्माण गरिएको छ । मन्दिरको झ्याल र ढोका कलात्मक छन् । ढोकामा गणेश, कुमार बुद्ध,लगायतका कलात्मक आकृति निर्माण गरिएको मन्दिर निर्माण अनुगमन समिति सदस्य राजेन्द्र रम्तेलले बताउनुभयो ।

विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीयवासीले बताएका छन् । मन्दिरमा विशेष गरेर कात्तिक महिनामा भक्तजनको विशेष भीडभाड लाग्ने गरेको छ । सत्यनारायणको पूजा गरेर फूलको डोली निर्माण गरी मन्दिरमा पूजाअर्चना हुँदै आएको छ ।

ढङ्गा गिट्टी बिक्रीबाट सात करोड आम्दानी

ढुङ्गा, गिट्टी बालुवा बिक्रीबाट तनहुँका स्थानीय तहलाई रु सात करोड ४५ लाख आम्दानी भएको छ । जिल्लाको १० स्थानीय तहलाई गत आर्थिक वर्षमा ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट उक्त आम्दानी भएको हो । चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा ढुङ्गा, गिट्टी बिक्रीबाट सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकाले आम्दानी गरेको छ भने सबैभन्दा कम बन्दीपुर गाउँपालिकाले आम्दानी गरेको जिल्ला समन्वय समिति तनहुँले जनाएको छ ।(रासस)