पर्यटन प्रवर्द्धनमा राँकेको ‘होटल चामु’

पर्यटन मुख्य समाचार विषेश समाचार

राँके (इलाम), ६ कात्तिक, बाक्लो हुस्से, बाह्रैमास चिसो, पुरानो बस्ती, पहाडी र लेकाली भूभाग, त्रिवेणी बाटो, जाडोले सिउसिउ गर्दै यताउता दगुरी रहेका मानिस, बाटोको छेउछाउमा चिया, छुर्पी, घिउ, अकबरेको मनग्य ब्यापार यो इलाम जिल्ला र पाँचथरको सीमानामा पर्ने राँके बजारको विशेषता हो । चारआली–ताप्लेजुङ हाइवेमै पर्ने यो ठाउँलाई लगभग बाह्रैमास हुस्सेले छपक्कै छोपेको हुन्छ । सडक मार्ग हुस्सेले ढाकेपछि गाडी कुद्नै कठिन हुन्छ । अनि धेरैको गन्तब्य अन्यत्र भए पनि यो ठाउँमा विश्राम स्थल बन्दछ । साँझ पर्न थालेपछि हुस्सेको मात्रा पनि बढ्न थाल्छ अनि यहाँको व्यापार पनि उसरी नै चम्किन्छ ।

छुर्पी, अकबरे, घिउ, चिया लगायतका सामग्रीसहित होटलको व्यवसाय पनि साँझ पर्दै गएपछि झन् उच्च हुन्छ । राँके बजारमा दर्जनौ होटल तथा लज छन् जसले पाहुनालाई स्वागत गरिरहेका हुन्छन् भने आ–आफ्नो तरिकाले सत्कार पनि । यी होटलका आ–आफ्नै विशेषता रहेका छन् । त्यसमध्येको एक हो ‘होटल चामु’ ।

लामो समय वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक कोरिया गएर फर्किएका युवा प्रकाश बस्नेतले यो होटल सुरु गरेका हुन् । उनी हाल इलाम सदरमुकाम र राँके बजारमै कोरियन भाषा प्रशिक्षण पनि गराइरहेका छन् । राँके बजार भन्दा करिब २ सय मिटर इलामतर्फ यो होटल छ । इलामतर्फबाट आउने ग्राहककालागि राँके चोक नपुगी अगाडि नै दाहिनेपट्टि पर्छ यो होटल । आफ्नै पुर्खौली जमिनमा वैदेशिक रोजगारी र कोरियन भाषा प्रशिक्षणबाट आर्जन गरेको करिब ३ करोड १५ लाख होटलमा लगानी गरेको बस्नेत बताउँछन् ।

राँके बजारमा विभिन्न विशेषतायुक्त होटल भए पनि ‘होटल चामु’ ले आफूलाई फरक देखाउने प्रयास गरेको छ । यहाँको मुख्य विशेषता भनेकै ‘अर्गानिक खाना’ हो । यहाँ स्थानीय गाउँघरमै फलेको सागसब्जी, लोकल कुखुरा, खसी, अण्डा पाइन्छ भने स्थानीय सिलटिमुर र चिङफ्रिङ, गुराँसजस्तो बहुमूल्य जडिबुटीको रक्सी पनि उपलब्ध भएको बस्नेत बताउँछन् । बस्नेत भन्छन्, ‘जडिबुटीको रक्सी चाख्नैलाई पनि मेरो होटलमा धेरै ग्राहक आउँछन् ।’

विषादीले राज गरिरहेको बेला अर्गानिक खाना पाउनु नै मुस्किलको कुरा हो तर त्यो होटल चामुले व्यवस्था मिलाएको छ । स्थानीयले होटलकै लागि कुखुरा, अण्डा, खसी पालिदिने गरेका छन् भने सागसब्जी पनि रोपेर होटललाई उपलब्ध गराउने गरेका छन् । कृषकलाई सामानको उचित मूल्य दिएर होटलले खरिद गर्ने गरेको छ । यसले गर्दा स्थानीय पनि अर्गानिक खेती र पशुपालनमा सक्रिय र उत्साहित रहेको पाइएको छ । जसले गर्दा स्थानीय व्यक्तिहरुलाई रोजगारी र आम्दानी पनि प्राप्त भएको छ भने स्थानीय सामानको प्रवद्र्धन पनि ।

यता जंगलमा कुहिएर जाने सिलटिमुर, चिङफ्रिङ, गुराँसबाट स्थानीयले पनि राम्रो आम्दानी लिन सकेका छन् भने ती वस्तुहरुको प्रवद्र्धन पनि भएको छ । होटलमा करिब १० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् भने सयौँ घरपरिवारले अप्रत्यक्ष रुपमा रोजगारी पनि पाएका छन् ।

योसँगै होटल चामुको अर्को काम भनेको पर्यटन प्रवद्र्धन गर्नु हो । होटलले झापातर्फबाट ताप्लेजुङ, पाथिभरासम्म जाने तथा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवासुविधा दिएको छ । होटलले सस्तो दरमा डिलक्स र ननडिलक्स रुमहरु उपलब्ध गराएको छ । यहाँ जम्मा १५ वटा कोठाहरु भाडामा उपलब्ध छन् जसमध्ये ५ वटा डिलक्स र १० वटा अट्याच रुमहरु रहेका छन् । राँके पर्यटकीय क्षेत्र भए पनि यहाँ उच्च स्तरको होटलको अभाव रहँदै आएको थियो जसले गर्दा यहाँ घुम्न र बस्न आउने पर्यटकलाई निक्कै कष्ट र जोखिम पनि थियो । तर अब होटल चामुले त्यो अभाव पुरताल गरेको छ । ‘राँके बजारमा गुणस्तरीय होटल नभएकोले पनि म यहाँ लगानी गर्न उत्साहित भएको हुँ’ बस्नेत भन्छन् । हुन पनि सुविधायुक्त होटलको खोजीमा रहेका पर्यटकलाई यो उपयुक्त विश्राम स्थल बन्दै आएको छ ।

होटल चामुले पर्यटन प्रवद्र्धनको लागि घोडचढी, पिकनिक स्पर्ट, पदयात्रा मार्ग, टेन्ट लिभिङ, जंगल सफारी जस्ता पर्यटक आकर्षित गर्ने चिजहरुको पनि बन्दोबस्त गर्ने जमर्को थालेको छ । ब्यापार मात्रै आफ्नो लक्ष्य नभएको होटल सञ्चालक बस्नेत बताउँछन् । उनी भन्छन्, ‘स्थानीयलाई रोजगारी दिनु, समग्र राँके बजारको व्यापार विस्तारमा योगदान गर्नु र समग्र इलाम, पाँचथर तथा देशकै पर्यटन प्रवद्र्धनमा योगदान गर्नु मेरो लक्ष्य हो ।’ स्थानीयको साथ र सहयोगले होटल सञ्चालन र पर्यटन प्रवद्र्धनमा आफू उत्साही र सन्तुष्ट पनि रहेको उनले सुनाए ।

स्थानीय स्रोत, साधनको उचित प्रयोग गरेर व्यवसायसँगै समाज सेवा गर्ने बस्नेतको काम सराहनायोग्य छ । वैदेशिक रोजगारीबाट आर्जन गरेको पैसालाई यस्तै पर्यटकीय क्षेत्रमा लगानी गर्न सके सरकारले नै लक्ष्य राखेको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ नारा स्थानीय तहबाटै पुरा हुँदै जानेमा कुनै दुविधा छैन ।

Loading...