‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए भोजराज

मुख्य समाचार साहित्य

काठमाडौं, २७ असोज, पूर्वमुख्यसचिव तथा क्यानडाका लागि नेपाली पूर्वराजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन् । बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे ।

पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द/बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो– ‘निर्बन्ध आकाश’ भने लोक र उच्चार्य सममात्रिक लयमा लेखिएको कृति हो– ‘उन्मुक्त किनारा’ ।

नेपाली गजलको विकास, विस्तार र परिस्कारका लागि क्रियाशील संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले आयोजना गरेको कार्यक्रममा ‘उन्मुक्त किनारा’ पुस्तकमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले गजलको शास्त्रीयताले गजल छन्द/बहरमै हुनुपर्ने मान्यता राख्ने बताए । तर नेपाली गजलसाहित्यमा यहाँका लोकलय र समआक्षरिक/सममात्रिक लयको पनि प्रयोग हुँदै आएको उनको भनाइ थियो । अधिकारीले उन्मुक्त किनारामा सामाजिक र मानवीय जीवनका अनेक पक्ष विषय बनेर आएका बताए । उनले गजलमा लय, भाव वा शिल्पमध्ये एक पक्ष मात्र उत्कृष्ट भएर नहुने यी तीनै पक्षको उत्तम पालना हुनुपर्ने धारणा राखे ।

निर्बन्ध आकाशमाथि टिप्पणी गर्दै समालोचक प्रभाती किरणले छन्दरबहरमा लेख्नु चानचुने कुरा नभएको बताए । लेखक विज्ञान र अर्थशास्त्रका विद्यार्थी हुँदाहुँदै पनि छन्द/बहर जस्तो जटिल क्षेत्रमा अध्ययन गरेर सयौँ गजल, त्यसमा पनि एक सय बढी छन्द/बहरमा रचना गर्नु निकै महत्त्वपूर्ण उपलब्धि र प्राप्ति भएको उनले बताए । हरेक गजलको अन्त्यमा छन्द/बहरका सूत्र र विश्राम पनि दिइएकाले उक्त पुस्तक छन्द र बहरमा सिक्न चाहनेका लागि गुरु पुस्तक बन्नसक्ने समालोचक प्रभाती किरणको भनाइ थियो ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले निर्बन्ध आकाशभित्रका गजलहरूमा छन्द/बहरको उचित पालना भएको र आगामी दिनमा अझ परिस्कृत गजलकृति घिमिरेबाट आउने अपेक्षा गरे ।

यसरी नै प्रा.डा. कृष्णहरि बरालले छन्द/बहरमा गजल लेखनले पछिल्लो समय तीब्रता पाइरहेको उल्लेख गर्दै छन्द र बहरमा गजल लेख्नु ठूलो साधना भएको बताए । छन्द, बहरमा बढी ध्यान दिँदा भाव र प्रभावमा चिप्लिनसक्ने खतरा हुने भन्दै उनले भोजराज घिमिरेका गजलमा त्यो समस्या कम भएको उल्लेख गरे ।

आफू गजलको विद्यार्थी भएको र सिकाइकै क्रममा चारवटा गजलकृति प्रकाशन गरेको सर्जक भोजराज घिमिरेको भनाइ थियो । पछिल्लो समय नेपाली गजलमा छन्द/बहरको व्यापक बहस र प्रयोग भएको देखेपछि आफूले पनि गजलको खास शास्त्रीयतालाई पछ्याउने कोसिस गरेको उनले बताए ।

गजलकार घिमिरेले एक दर्जन बढी नवछन्दको निर्माण गरेर लेखेका गजल पनि निर्बन्ध आकाशमा समावेश गरेका छन् ।

गजलकारहरू जय गौडेल र राधा कणेलले निर्बन्ध आकाश कृतिबाट गजलहरू वाचन गरेका थिए । पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो ।

Loading...