प्रहरीप्रति नागरिकको पूर्ण अविश्वास !

मुख्य समाचार विचार

– डिल्ली रमण सुवेदी
आजभन्दा ठ्याक्कै साढे दुई महिना अघि अर्थात् साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा आजसम्म पनि पत्ता लाग्न सकेको छैन । अनुसन्धानको बहानामा केही व्यक्तिहरुलाई पक्राउ गरी छाडिएको छ । निक्कै गम्भीर रुपमा लिइएको सो घटनामा संलग्न भएको आशंकामा प्रहरीकै तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरीहरुको पोलिग्राफ परीक्षण भइसकेको छ । परीक्षण पनि नेगेटिभ देखिएपछि अनुसन्धानले अर्कै मोड लिएको छ ।

यो घटनालाई लिएर उपसचिव हरिप्रसाद मैनालीको अध्यक्षतामा छानविन समिति पनि बन्यो । जसले रिपोर्ट दिइ नसक्दै समितिका एक सदस्य वीरेन्द्र केसीले राजिनामा समेत गरे । छानविन प्रकृया घटनामा केन्द्रित नभएको, तोडमोड हुनसक्ने अवस्था देखिएको, वास्तविक अपराधीलाई बचाउने प्रयास गरिएको र आफ्नै ज्यानको समेत खतरा रहेको भन्दै उनले राजिनामा गरेका थिए । यसले प्रहरी प्रशासन र छानविन समितिप्रति नै अविश्वास जनाएको छ । तर पछि उनी पुनः समितिमै फर्किए । समय थप गरेको पनि लामो समयपछि मात्रै छानविन समितिले रिपोर्ट सार्वजनिक गर्यो । रिपोर्टले प्रहरी नै दोषी रहेको निष्कर्ष निकाल्यो । तर अपराधीसम्म पुग्ने बाटो भने दिन सकेन ।

प्रहरीले घटनालाई तोडमोड गरी अनुसन्धान कार्यलाई प्रभावित पारेको आरोप लगाउँदै कञ्चनपुरका स्थानीयले आन्दोलन गरे । आन्दोलनको क्रममा पन्ध्र वर्षीय युवा सोनु खुनाको ज्यानसमेत गयो भने केही घाइते अवस्थामा छन् । मृतक निर्मला पन्तका आमा, बुबासहित केही थान अधिकारकर्मीहरु कञ्चनपुरबाट दबाब दिन काठमाडौँसम्म आए । काठमाडौँका बासिन्दाको ठूलो समर्थनमा सरकार र प्रहरी प्रशासनलाई दबाब दिइयो । करीब एक हप्ताको बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर टोली कञ्चनपुर फर्कियो । यो घटना न टुङ्गो लागेको छ न दबाब र अन्दोलनका कार्यक्रम ओझाएका छन् ।

निर्मला पन्तको बलात्कार र हत्यापछिको अवधि भित्रै कञ्चनपुरमा मात्रै ८ वटा बलात्कारका घटना घटिसकेका छन् । देशभरीको संख्या हेर्ने हो भने कहालीलाग्दो छ । बलात्कार तथा हत्या को ? कसले ? किन ? र कसरी गराउँछ ? त्यो विवरण हेर्ने हो भने अवस्था डरलाग्दो देखिन्छ । तर यहाँ चर्चा गर्न खोजिएको विषय प्रहरीको अनुसन्धान प्रकृयाप्रति सर्वसाधारणको विश्वास कस्तो छ ? भन्ने मात्रै हो ।

प्रहरी र समग्र प्रहरी संगठनमाथि नै पटक–पटक आक्षेपहरु लाग्ने गरेका छन् । प्रहरीले पीडकलाई उन्मुक्ति दियो, अपराधीको पक्षपोषण गर्यो, ठूला व्यक्तिलाई आश्रय दियो, साना वा निमुखालाई न्याय दिएन, थप पीडा दियो, भ्रष्टाचार गर्यो आदि पटक–पटक लाग्ने अरोपहरु हुन् । निर्मला पन्तको घटनामा प्रहरी संगठनमाथि नै आक्षेप लाग्ने कारणले प्रहरीले अनुसन्धान प्रकृयालाई फितलो बनायो, गुपचुप बनाउन खोज्यो, प्रमाणहरु नष्ट गर्यो, वास्तविक अपराधीलाई उन्मुक्ति दियो र सर्वसाधारण र घटनासँग असम्बन्धितलाई अनाहकमा पीडा दिने काम भयो भन्ने आरोप पनि छ । घटना भएको साढे दुई महिनासम्म पनि वास्तविक अपराधी पत्ता लाग्न नसक्नुले प्रहरी संगठनप्रति नै स्थानीयको विश्वास घटेको छ ।

असोज ९ गते पोखरा महानगरपालिका– २२ पुम्दीभुम्दीको कोदी भन्ने ठाउँकी १० वर्षीया बालिका श्रेया सुनारको हत्या भयो । सोमबार साँझ ५ बजेतिर घरबाट बिस्कुट किन्न भनेर पसलतर्फ गएकी बालिका भोलिपल्ट बिहान घर नजिकैको झाडीमा मृतअवस्थामा फेला परिन् त्यो पनि क्षतविक्षत अवस्थामा । बालिकाको बलात्कारपछि घाँटी थिचेर र चुच्चो ढुंगाले दर्जनौ पटक हानेर दर्दनाक रुपमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको वैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्की बताउँछन् ।

घटनापछिको अवस्थालाई स्थानीय एक गण्डकी टेलिभिजनले जस्ताको तस्तै देखाउने प्रयास गर्यो । त्यो भिडियो हेरेपछि देशभर भएका बलात्कारका घटना र पोखराको घटनासम्म आइपुग्दा प्रहरीप्रतिको नागरिकको विश्वास क्षीण हुँदै गइरहेको स्पष्ट हुन्छ । अन्य अपराधका घटना र बलात्कारका घटनामा प्रहरीले यसअघि देखाएका व्यवहारले पनि प्रहरी र सिंगो संगठनप्रति नै नागरिकको विश्वास घट्दै गएको छ । यस्तो नहुनु पर्ने हो ।

पोखराको सो घटना हेर्न पुगेका स्थानीयले मृतकको सम्पूर्ण शरीर र अवस्था हेर्न पाउनु पर्ने माग गरेका छन् । त्यो भिडियो खिचिएको सही छ वा छैन ? स्थानीयको माग जायज छ कि छैन ? त्यसतर्फ म गइँन । तर एउटा कुरो भने छर्लङ्ग छ मृतक सुनारका आफन्त र स्थानीयले प्रहरीप्रति अविश्वास गर्दै घटनाको प्रकृति र अवस्था बुझ्न खोजेका हुन् । यही विषयमा स्थानीय र प्रहरीबीच लामो समय विवाद पनि भएको छ । अन्त्यमा हेर्न पाउने सहमति गर्दै स्थानीय, परिवारका सदस्य, आफन्त, जनप्रतिनिधि र पत्रकारले मृतकको शरीर प्रत्यक्ष हेर्न पाउँछन् । घटना स्थलमा नदेखाएर प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव ल्याइसकेपछि हेर्ने अनुमति दिएको थियो ।

मृतकको अवस्था हेरिसकेपछि स्थानीयले बलात्कारपछि हत्या भएको र घटना दर्दनाक भएको प्रतिक्रिया दिएका छन् । सँगै उनीहरुले यो पनि भनेका छन् कि ‘अब प्रहरीले घटनालाई तोडमोड गर्न पाउँदैन, जे हो यथार्थ हामीले हेरिसकेका छौँ ।’ अब प्रहरीले घटनालाई लुकाउन खोजे वा तोडमोड गर्न खोजे त्यो सम्भव नहुने उनीहरुको दाबी छ । घटनाको भोलिपल्टै प्रहरीले अपराधीलाई पक्राउ गर्न भने सफल भयो ।

कतिपय बलात्कारका घटनामा प्रहरी स्वयम् पनि संलग्न रहँदै आएको पाइएको छ । कतिपयमा प्रहरीका आफन्त, साथीभाइ, आसेपासेका कारण पनि प्रहरीले अपराधी वा पीडकलाई प्रश्रय दिन पुगेको पाइन्छ । यी र यस्ता कारणले प्रहरी संगठनप्रति नागरिकको विश्वास कम हुँदै गइरहेको छ । जति जति घटना वृद्धि हुँदै जान्छन् प्रहरीप्रतिको विश्वास पनि उतिउति घट्दै गइरहेको पोखराको घटनाले देखाउँछ ।

प्रहरीको काम भनेको नागरिकलाई सुरक्षा दिने, समाजमा शान्ति सुरक्षा कायम गर्ने र नागरिकको विश्वासपात्र बनेर काम गर्ने हो तर यसरी दिनप्रतिदिनका घटनाले प्रहरी र सिंगो संगठनप्रति अविश्वास बढ्नु वास्तवमै दुबै पक्षको लागि हानिकारक छ । यो अवस्थाको तत्काल सुधार गर्न र नागरिकप्रति प्रहरी संगठन जिम्मेवार छ भन्ने देखाउन अति आवश्यक भइसकेको छ । त्यसतर्फ प्रहरी संगठनले समयमै र विशेष ध्यान दिन जरुरी छ ।

Loading...