दशैँको ढोल र झिझिया नृत्य देख्न छाडियो

कला/संस्कृति विषेश समाचार

गोपालप्रसाद बराल     बर्दिवास, २५ असोज ‘न ढोल बाजल, न झिझिया के नाच दिखाइय, दशहारा आयल बुझाइए न रहल अई’ (न ढोल बज्यो, न झिझिया नाच नै देखिन्छ, खै दशैँ आएजस्तो नै लाग्दैन) ।

महोत्तरीसहितका मिथिलामा दशैँपर्वको नवरात्र शुरु भएसँगै बस्तीका घर-घरैजसो ‘दशैँ के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राति महिलाले सामूहिकरुपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि नरमाइलो मान्दै महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका ७५ वर्षीय लालचन महतोले बह पोख्नुभयो । दशैँ पर्वको घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दशैँ के ढोल’ भनेर कराउँदै हिँड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको महतोको भनाई छ ।

त्यसैगरी नवरात्र शुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाको समूह पनि अब देखिन छाडेको छ । ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा…!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रह्मस्थान) स्थलमा पुगेर बडादशैँ पर्वमा मिथिलानी (मिथिलाका नारी) ले  सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मिथिलाञ्चलबाट हराउँदै गएको महतोसहितका पाका मैथिल (मिथिलाका बासिन्दा) को चिन्ता बढेको छ ।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याइँले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि मिथिलाका गाउँनगर बस्तीमा अब दशैँको ढोल बज्न छाडेको हो । “कि करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा÷पोता ढोल बजाव नइ चाहैय, कि करु ?”(के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा-नाति ढोल बजाउन चाँहदैनन्, के गरौँ ?) भङ्गाहा–४ रामनगरकै चमारटोलका ७५ वर्षीय चमार समुदायका अगुवा लक्षणराम चमारले भन्नुभयो ।      दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब राष्ट्र जान थालेपछि पुख्र्यौली रीतिथिति र पेशा थाम्ने कुरा ओझलिएको चमार जातिका पाका उमेरका अगुवा बताउँछन् ।

त्यसैगरी असुर प्रवृत्तिविरुद्घ सात्विक प्रवृत्ति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दशैँपर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । “दशैँ लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ” महोत्तरी जिल्लाकै गौशाला नगरपालिका–७ का ५० वर्षीय सौखीलाल यादबले भन्नुभयो, “अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको छ ।” डिस्को बाजासँगै कर्कस स्वरमा गाउँनगर बस्तीमा सुनिने गीतप्रति यादबले ब्यङ्ग गर्नुभयो ।

दशैँ लागेपछि अघि सत्ययुगमा देवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिन सक्ने रूढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिने गरिएको छ ।

असङ्ख्य ससाना प्वाल पारिएको माटोको गाग्रो (घैँटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन् । “हुन त यो रूढी विश्वासको परम्परा हो” भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवीसिंह दनुवारले भन्नुभयो, “तर मिथिला संस्कृतिको अभिन्न अङ्ग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ ।” तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनिसकेको उपप्रमुख दनुवारको थप भनाइ छ ।

मिथिलामा हराउँदै गएको यो संस्कृतिलाई केही वर्षयता गैरसरकारी सामाजिक सङ्घ संस्थाले यदाकदा देखाउने गरेका भए पनि जनमनबाट भने हराउँदै गएको यहाँका बुद्धिजीवीको भनाइ छ । “यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो” महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का उपप्राध्यापक ध्रुव रायले भन्नुभयो, “गैरसरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो थेगिँदैन, जनमनले नै थेग्नुपर्छ ।” मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिन पर्ने रायसहितका बुद्धिजीवीको सुझाव छ ।

अब झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिष्कृत गर्न पर्ने भङ्गाहा–७ मेघरोलका बासिन्दा तथा माध्यमिक तहको विद्यालय प्रधानाध्यापक सेवाबाट अवकाश लिनुभएका ६५ वर्षीय चन्द्रनारायणसिंह थारु बताउनुहुन्छ ।

पछिल्ला केही वर्षयता झिझिया नृत्यलाई निरन्तरता दिँदै आएकी बर्दिवास–२ की ५० वर्षीया कामिनी कर्ण रहर गरे पनि साथी नथपिएपछि यसपालि झिझियालाई निरन्तरता दिन नसकेको बताउनुहुन्छ । “नयाँ पुस्ताका युवा छोरीचेली वास्ता देखाउँदैनन्” कर्णले भन्नुभयो, “अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरी सुनाउने स्थिति भइसक्यो ।” यद्यपि सो बस्तीकै रश्मी, निभा र  विमलासहितका नयाँ पुस्ताका युवा मिथिलानी भने यो पुरानो मिथिला संस्कृति जोगाउन अब आफूहरु लागि पर्ने बताउनुहुन्छ ।(रासस)

Loading...