टोपबहादुर रायमाझी भन्छन् ‘ओली सरकार सुस्त भयो, गियर चेन्ज गर्नुपर्छ’

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, २४ असोज, पूर्वउपप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताएका छन् । काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा यसअघि नेकपा अध्यक्ष प्रचण्डले भनेकै भनाईलाई दोहोर्याएका हुन् ।

उनले भने, ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’ उनले मुलुक यतिबेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने, ‘यतिमात्रै होइन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिबेला ज्यादै नै महत्वपूर्ण र सकरात्मक परिस्थिति सिर्जना भएको छ । विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन । राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो । त्यो सकेनौं तर, पछिल्लो चरणमा दुई तिहाईको सरकार बनेको छ ।’
उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ ।’
यद्धपि अहिले पनि पूरानै संस्कारका धंगधंगीहरु रहेको उनको भनाई थियो । रायमाझीले थपे, ‘पूरानो संस्कारमात्रै होइन, पूरानो संविधान र यसको अभ्यासको पनि धंगधंगी छन् । अब नयाँ संविधानको अभ्यासको सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार निर्माण भएका छन् । अब तिनीहरुको तीनै तहका संस्थाहरुको योजना, बजेट र अधिकारको बाँडफाँड र कार्यान्वयनको व्यापक अभ्यास गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।’

उनले अघि थपे, ‘तर, सोच, संस्कार र चिन्तनको कुरा आउँछ । यसले थोरै द्धिविधाजस्तो देखिन्छ । जति द्रुत गतिमा सरकारले कामहरु सम्पादन गरेर, योजना बनाएर अघि बढ्नुपर्ने हो, त्यो चाहीँ अलिकति कठिनाई भएको, जनताको आकांक्षा अनुसार अगाडि बढ्न नसकेको जस्तोपनि देखिन्छ । जहाँसम्म सरकारले विकास र समृद्धि, अनि सुशासनको क्षेत्रमा जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन् । त्यसलाई सरकारले तिव्र रुपमा ती विकृति, विसंगती र कमिकमजोरीहरुलाई हटाएर अब राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्दछ ।’

अब सरकारले अलिकति पिक–अप, गियर बढाउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘सरकारले अब गियर चेन्ज गरेर तिव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु ।’

Loading...