धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै

मुख्य समाचार समाज

पर्वत,२४ असोज, पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् । घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख धरौटीमा छुटेका हुन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले मङ्गलबार नेपालीलाई रु दुई लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो । अभियुक्त नेपाली रु दुई लाख बुझाउन नसकेपछि पर्वत जिल्ला कारागारमा थुनामा छन् ।

अदालत बुधबारदेखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भए पनि अभियुक्त नेपालीले दशैँ बिदामा पनि कारागार बस्नुपर्ने भएको छ । नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ वर्षीया बालिका घरको बारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्बा हुँदै बारदलीमा चढेर मुख थुनी जबर्जस्ती यौन क्रियाकलाप गर्न खोजेको अभियोगमा असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।(रासस)