शालग्राम संरक्षण गर्न संग्रहालय बनाइँदै

पर्यटन मुख्य समाचार

सुवास गौतम      बागलुङ, २३ असोज शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो  । संरक्षणको अभावमा शालग्राम शिला हराउन थालेको छ ।  विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले पहल थालेको छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजीधाममा शालग्राम संग्रहालयको निर्माण धमाधम भइरहेको छ ।

धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिने शालग्राम शिलालाई संग्रहालयमा व्यवस्थित रुपमा राखिन थालिएको बालाजीधामले बताएको छ । हाल तिरुपती बालाजीधाममा रहेका २४ हजार शालग्रामलाई संग्रहालयमा राखिने भएको छ । भगवान् शिवको प्रिय अस्त्र मानिने त्रिशुल आकारमा भूगर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित रुपमा शालग्राम राख्न संग्रहालय बनाइने छ भने  त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको नक्शा, विभिन्न मठ मन्दिरका आकृतिहरु, वृतचित्र प्रदर्शनी लगायतका कार्य गरिने छ । सुरुङको पहिलो खण्डमा त्रिवेणीधामदेखि दामोदर कुण्ड जाने नक्शा, बीच भागमा धौलागिरि हिमालसँगै शिवजीको मूर्ति राखिने छ ।

सुरुङको दोस्रो खण्डमा सिसाभित्र २४ हजार शालग्रामको दर्शन गर्न सकिने गरी राखिनेछ र ती  शालग्रामलाई केशव, नारायण, माधव र गोविन्द लगायतका नाम दिइने छ । त्यस्तै, तेस्रो खण्डमा मुक्तिनाथ भगवान्को तपोभूमि÷तपस्यास्थल निर्माण गरिने छ । चौथो खण्डमा भगवान्हरुको मूर्ति प्रदर्शनी तथा मुक्तिनाथ मन्दिरको महिमा, शालग्राम र गण्डकीको महिमामा केन्द्रित वृत्तचित्र प्रदर्शन गरिने छ ।

साविकको धौलागिरि अञ्चल सदरमुकाम बागलुङ नगरपालिका–४ कुँुडुले फेदीस्थित श्री रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम संग्रहालय निर्माण गर्न लागिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम चोरी पैठारी हँुदा भविष्यमा शालग्राम हराउँदै जाने देखिँदा शालग्राम संरक्षणमा जुटेका हौं,” उहाँले भन्नुभयो – “यस कार्यलाई पूर्णता दिन सबैको सहयोग आवश्यक छ ।”

मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई बागलुङ भित्र्याउन समेत यस शालग्राम संग्रहालयले ठूलो योगदान गर्ने बताइएको छ । करीब रु चार करोडको लागतमा यसको निर्माण गर्न थालिएको हो । स्वामी प्रपन्नाचार्यले भन्नुभयो – “अहिले सुरुङ निर्माण अन्तिम चरणमा छ ।”  विशेष गरी मुक्तिनाथ मन्दिर आउन चाहने हिन्दु धर्मावलम्बीहरुका लागि यहाँ रहेका २४ हजार शालग्राम आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

अबको एक महिनामा सुरुङ मार्गको काम सकिने र त्यसपछि अन्य भौतिक संरचनाको काम थालिने बालाजीधामले बताएको छ । रु चार करोड रकम जुटाउन आफ्ना तर्फबाट सक्दो पहल भइरहेको स्वामी प्रपन्नाचार्यले बताउनुभयो । हाल बालाजीधाममा स–साना शालग्रामदेखि ३०० किलोग्रामसम्मका शालग्राम संगृहीत छ । परापूर्व कालदेखि नै शालग्राम संगृहीत गर्दै आएका स्व. स्वामी श्रीधरचार्यको सपना पनि संग्रहालयको निर्माणबाट साकार हुने स्थानीय बासिन्दाले ठानेका छन् ।

“धार्मिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ पुगे सरह यस संग्रहालय तथा मन्दिरमा आउँदा समग्र बागलुङ जिल्लाको पर्यटन क्षेत्रको विकास हुनेछ,” समाजसेवी गोविन्द पौडेलले भन्नुभयो । मुक्तिनाथ जाने पर्यटकहरुलाई बागलुङ भित्र्याउन संग्रहालय तथा यस मन्दिरले ठूलो योगदान गर्ने उहाँको विश्वास छ ।

“मन्दिरको आम्दानीको स्रोत केही छैन, सहयोगी दाताहरुले दिएको दानदातव्यको भरमा मन्दिर सञ्चालन भएको छ,” मन्दिरलाई निरन्तर सहयोग गर्ने सहयोगीदाता सहदेव राजभण्डारीले भन्नुभयो – “संग्रहालय बनाउन सबैको सहयोग चाहिन्छ ।”

सुरुङ निर्माणको ठेक्का साउथ एशियन एन्फ्रास्ट्रक्चर निर्माण कम्पनीले पाएको छ । निर्माण कम्पनीका इन्जिनीयर नरोत्तम कार्कीका अनुसार सेमि–सर्कल प्रविधिमा निर्माण भइरहेको उक्त सुरुङ ३ मिटर उचाइ र ३ मिटर ७० सेन्टिमिटर चौडा छ । नदीहरुमा प्रशस्त मात्रामा पाइने शालग्राम लोप हुन थालेपछि यसको संरक्षणका बारेमा धार्मिक व्यक्ति र सम्बद्ध सङ्घसंस्थाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।

हिन्दु धर्मावलम्बीहरुका लागि कालो रंगको बाटुलो शिला (ढुँगा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णवी र सनातनीहरुले शालिग्रामलाई साक्षात् विष्णुको अवतार मान्छन् ।

स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणमा जीवन समर्पण गर्ने एक अभियन्ता मानिनुहुन्छ । उहाँकै नामबाट संग्रहालयको नामकरण गरिने भएको छ । उहाँको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तसरीलगायत दुई दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।(रासस)

Loading...