आदिवासी महिलालाई कानूनी तालिम

प्रदेश मुख्य समाचार

विराटनगर, २३ असोज, प्रदेश नं १ का आदिवासी महिलालाई भूमिमाथिको कानूनी अधिकारबारे जानकारी दिने उद्देश्यले दुईदिने तालिम सोमबार सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ (निफ) को आयोजनामा भूमिमाथिको कानूनी अधिकार र व्यावहारिक पक्षका बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो ।

राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घको महासचिव शान्ति देवानले जनजाति बसोबास रहेको भूमिको संरक्षण गर्न कानूनको जानकारी दिन यस्तो तालीम आयोजना गरिएको जानकारी दिनुभयो । तालिममा आदिवासी जनजातिको अधिकारको विषयमा छलफल हुनाका साथै नयाँ फौजदारी संहिताका विषयमा समेत जानकारी गराइएको थियो ।

तालिममा आदिवासी जनजाति समुदायका अगुवा ४० महिलाको सहभागिता थियो । तालिममा सहभागीले समुदायमा गएर उनीहरुले आफ्नो अधिकार स्थापित गर्नका लागि पहल गर्ने बताइएको छ । तालिमको सहजीकरण अधिवक्ता लक्ष्मी राई र नेफका कार्यक्रम संयोजक कमला थापाले गर्नुभएको थियो ।(रासस)

Loading...