महिला हिंसा विरुद्ध एकजुट हुनुपर्छ

विषेश समाचार समाज

काठमाडौँ, २२ असोज समाजमा बढ्दो महिला हिंसा, बलात्कार र यौनजन्य क्रियाकलापको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘महिला हिंसाका कारण र समाधान’ विषयक अन्र्तक्रियामा सहभागी वक्ताले महिला हिंसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो ।

मानव अधिकारकर्मी गौरी प्रधानले ‘महिलाविरुद्ध हिंसाः स्थिति, कारण र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय महिला हिंसा बढ्दै गएकाले यसका विरुद्ध समाजका सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा मुलुकभरी बलात्कारका एक हजार ४८३, बलात्कार गर्न खोजिएको ७२७, बेचबिखन ३०८, गर्भपतन १८, बहुविवाह ६०२, बाल विवाह ६२, घरेलु हिंसा १२ हजार २२५ र बोक्सीको आरोपमा ४८ घटना भएको नेपाल प्रहरीको तथ्याङ्क रहेका छन् । यसरी यो तथ्याङ्कलाई हेर्दा घरेलु हिंसापछि बलात्कारका घटना बढी देखिएको कार्यपत्रमा उल्लेख छ ।

प्राध्यापक सङ्घका उपाध्यक्ष यादवप्रसाद लामिछानेले महिला हिंसाका घटना न्यूनीकरण गर्नका लागि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।सङ्घका अध्यक्ष गोमा देवकोटाले महिला हिंसा रोक्न सरकारी र गैरसरकारी सबै निकाय एकजुट हुनुपर्ने बताउँदै सबै पक्षबीचको सहकार्यबाट मात्र सभ्य समाज बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

अनेमसङ्घ क्रान्तिकारीका अध्यक्ष अमृता थापामगरले महिला हिंसा कम गर्नका लागि महिला तथा पुरुष स्थानीयस्तरदेखि नै एकजुट भएर काम गर्नुपर्ने र त्यसका लागि सहकार्य गर्न आफू सदा तयार रहेको बताउनुभयो । (रासस)

Loading...