बडादशैँको शुभसाईत !

कला/संस्कृति मुख्य समाचार

काठमाडौँ, २२ असोज, सोह्रश्राद्धको समाप्तिसँगै नवरात्र आरम्भ भएपछि औपाचारिक रुपमा दशैँ लागेको मानिन्छ । जसअनुसार २०७५ सालको वडादशैँ असोज २४ गते बुधवारदेखि प्रारम्भ हुने भएको छ । बुधबार बिहान ७ः१५ बजेको शुभसाइतमा घटस्थापनासँगै नवरात्र प्रारम्भ हुने गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यो दिन जमरा राख्ने गरिन्छ ।

गृहमन्त्रालयको विज्ञप्तिअनुसार झण्डा फेर्ने शुभसाइत असोज २५ गते बिहीबार बिहान १०ः२४ बजे (पश्चिम मोहडा) रहेको छ । यसैगरी पचली भैरवयात्रा असोज २८ गते आइतबार हुने पनि जनाइएको छ ।

बडादशैँको मुख्यदिनहरु असोज ३० गते मंगलबारदेखि प्रारम्भ हुनेछन् । बिहान ९ः२१ बजेको शुभसाइतमा फूलपाती राखेपछि मुख्यरुपमा दशैँ प्रारम्भ भएको मानिन्छ । मंगलबार बिहान ९ः२१को शुभसाइतमा फूलपाती र श्री तुलजा भवानी यात्रा गर्ने र स्थिराशन बिहान १०ः०२ मा गर्नु पर्ने विज्ञप्तिमा जनाइएको छ । फूलपातीदेखि टीकाको दिनसम्मलाई मुख्यरुपमा दशैँ मान्ने गरिन्छ ।

यता असोज ३१ गते बुधबार महाअष्टमी तथा कालरात्री रहेको छ भने कात्तिक १ गते बिहीबार महानवमी हो । वडादशैँको मुख्य दिन अर्थात् विजया दशमी कार्तिक २ गते शुक्रबार परेको छ । सो दिन बिहान ९ः३५ बजेको शुभसाइतमा श्री तुलजा भवानी यात्रा गर्ने र ९ः४४ बजे स्थिराशन तथा खड्गयात्रा गर्ने पनि जनाइएको छ । बिहान ९ः३९ बजेको शुभसाइतमा देवी विसर्जन गर्नुपर्नेछ । टीका ग्रहणको लागि बिहान ९ः५१ बजेको साइतलाई शुभ मानिएको छ ।

यता कात्तिक ६ गते मंगलबार अखिलवलिपूर्ति र कार्तिक ७ गते बुधबार कोजाग्रत व्रत अर्थात् कोजाग्रत पूर्णिमा रहेको छ । विजया दशमीको दिन देवीको प्रसाद लगाउने भएकोले सर्वसाधारणका लागि सामान्यतयाः टीकाको साइत अपेक्षित नदेखिने पनि विज्ञप्तिमा जनाइएको छ ।

नेपालीहरुको महान चाड वडादशैँमा यसैगरी गृहमन्त्रालयले हरेक वर्ष शुभसाइत सार्वजनिक गर्ने गरेको छ ।

Loading...