बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएपछि राष्ट्रिय टोली स्वदेश फर्कियो

खेलकुद मुख्य समाचार

काठमाडौँ, २१ असोज, बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ । बङ्गबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित हुँदै समूह चराबाटै बाहिरिएको हो ।

लिग पुनः शुरु
यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यही असोज २४ गतेदेखि हुने भएको छ । लिग निर्देशक सञ्जीव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महीनाका लागि लिग स्थगित हुनेछ ।

एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने लक्ष्य लिएको छ । त्यसपछि दशैँ–तिहारको विदामा लिग स्थगित हुनेछ । “पहिलो राउण्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ । दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिरदेखि लिगको दोस्रो चरणका खेल शुरु हुनेछन्,” निर्देशक मिश्रले भन्नुभयो ।

पहिलो चरणका मच्छिन्द्र र च्यासल, फ्रेण्डस् क्लब र थ्रीस्टार, जावलाखेल युथ क्लब र नेपाल पुलिस, हिमालयन शेर्पा र एपिएफ तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी गरी पाँच खेल बाँकी छन् । तीन दिनमा पाँच खेल खेलाउँदा दुई दिन दुई–दुई खेल हुनेछ भने एक दिन एउटा खेल हुनेछ ।

उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लब विजयी भएको थियो । लिगका खेल तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पुरस्कार पाउने छ ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ‘ए’ डिभिजनका १३ क्लब सहभागी छन् । (रासस)

तस्विर: फायल

Loading...