प्रयोगबिहीन सिसी क्यामेरा

ट्राफिक/प्रहरी विषेश समाचार

बागलुङ, २० असोज सुरक्षा निगरानीका लागि बागलुङ बजारमा जडान गरिएका २९ मध्ये १६ ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । पाँचवटा विद्युत् आपूर्ति नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । बाँकी आठ चले पनि भरपर्दा छैनन् । विसं २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेरा जडान गरेका थिए । लाखौँ  रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा सिसी क्यामेरा प्रयोगबिहीन बनेका हुन् । सङ्घका सिसी क्यामेरा व्यवस्थापन उपसमितिका संयोजक अर्जुन घिमिरेले बजेट अभावका कारण क्यामेरा मर्मत नभएको बताउनुभयो ।

मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रिएर काम नलाग्ने भएपछि सुरक्षा चुनौती थपिएको छ । सामाजिक सुव्यवस्था, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो । समीक्षालय चोकको दुई, हल्लन चोकको दुई, अदालत चोकको एक, लोकतान्त्रिक चोकको दुई, धवलागिरि चोकको एक, जीप पार्कको दुई, श्रीनगर टोलको एक, शिवधारा चोकको दुई, लालीगुराँस चोकको दुई र देउराली चोकमा जडान गरिएको क्यामेरा बिग्रिएको हो ।

बजेट अभावमा क्यामेरा मर्मत हुन नसकेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयराम भारीले बताउनुभयो । मर्मतमा करीब रु तीन लाख ५० हजार खर्च लाग्ने जनाइएको छ । नगरपालिकाले क्यामेरा नियमित सञ्चालनका लागि सहयोग उपलब्ध नगराएको सङ्घको गुनासो छ । सङ्घकै पहलमा अघि बढेको सिसी क्यामेरा जडान कार्यमा नगरपालिकाको रु ३० लाख र सङ्घको रु २० लाख लगानी भएको थियो । कागजातसहित मर्मतका लागि माग गर्न आएमा तत्काल रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाकै कारण क्यामेरा मर्मत र सञ्चालनमा समस्या नआउने उपप्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।

सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Loading...