पत्रकार आचार्यको कथासङ्ग्रह ‘उपहार’ विमोचन

मुख्य समाचार विषेश समाचार साहित्य

डिल्लीरमण सुवेदी, काठमाडौँ, १९ असोज, पत्रकार तथा कथाकार चेतनाथ आचार्यको कथासङ्ग्रह ‘उपहार’ विमोचन गरिएको छ । आज सूचना तथा प्रशारण विभाग, सञ्चारग्रामको सभाहलमा आयोजित एक विशेष कार्यक्रमकाबीच शताब्दी पुरुष सत्यमोहन जोशीले कथासङ्ग्रहको विमोचन गरे ।

पुस्तक विमोचनपछि बोल्ने क्रममा शताब्दी पुरुष जोशीले पुस्तकको प्रशंसा गरे । सरल भाषा शैली र कथा लेखनको नयाँ शैली आचार्यले प्रयोग गरेको भन्दै कथा लेखनमा निरन्तरता दिन सके नेपाली साहित्यले महत्वपूर्ण सामग्री र नयाँपन पाउने जोशीले उल्लेख गरे । जोशीले आफू चीन बस्दाका अनुभव सुनाउँदै आचार्यले चीनलाई सरल किसिमले बुझेर कथा मार्फत व्यक्त गरेको बताए ।

कथासङ्ग्रहको समीक्षा गर्ने जिम्मेवारी पाएका प्रा. राजेन्द्र सुवेदीले नेपाललाई नेपाल बाहिरबाट हेर्दा स्पष्ट देखिन्छ भन्ने भनाईलाई कथासङ्ग्रहले प्रष्ट पारेको बताए । बहुसंस्कृति र साइबर संस्कृतिका विषयवस्तुलाई कथाले उठान गरेको सुवेदीले बताए । आचार्यका कथाहरु रचनामाथिको अधिरचना भएकोले विशेष भएका पनि सुवेदीले उल्लेख गरे । उनले भने, ‘कथाकार लीलबहादुर क्षेत्रीको कथा बसाईँ माथि अचार्यले बसाईँ शीर्षककै कथा रचना गरेर अधिरचना तयार गरेका छन् ।’

अर्को प्रसंङ्गमा सुवेदीले नेपालमा पनि उत्कृष्ट र नोवेल पुरस्कार प्राप्त गर्न सक्ने रचना र साहित्यकार रहेको उल्लेख गरे । विश्वव्यापी भाषामा अनुवाद हुन नसक्नु र भएका अनुवादहरु पनि कति मर्छन् र कति बाँच्छन् भन्ने टुङ्गो नहुनुले अवस्था दुःखद रहेको उनले बताए । उनले नेपाली कृतिहरु सापेक्ष रुपमा अनुवाद गरी विश्व बजारमा लैजानु पर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै कथाकार माया ठकुरीले आचार्यका कथाले सुरुदेखि अन्त्यसम्म बाँध्न सक्ने उल्लेख गरिन् । यौनका विषयलाई कलात्मक तरिकाले पस्किने काम गरेको, समाज, परिवेश र परिवारको बारेमा सरल र सहज तरिकाले कथाले बोलेको उल्लेख गरिन् । आचार्यका कथा पढ्दा त्यति मिहीन तरिकाले विषयवस्तु कसरी आउँछन् आफूलाई अचम्म लागेको बताउँदै ठकुरीले लेखकप्रति इर्ष्या लागेको बताइन् ।

कार्यक्रमकि अर्की वक्ता चिनिया अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली विभाग कि प्रमुख चाङ युवे अर्थात् वर्षाले आचार्यका कथामार्फत आफूले केही हदसम्म भए पनि नेपाली समाज र परिवेश बुझ्ने अवसर प्राप्त गरेको बताइन् । आचार्यले पैचिङ र चीनलाई कथामा फरक ढंगले ब्याख्या गरेकोमा आफूलाई खुसी लागेको उल्लेख गरिन् । साथै आचार्यका कथाले चीन र नेपाललाई कथाको माध्यमबाट जोड्ने काम गरेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै कथासङ्ग्रहका सम्पादक लक्ष्मी पराजुलीले कथाहरु उत्कृष्ट रहेको उल्लेख गरे । कार्यक्रमको अन्त्यमा सम्बोधन गर्दै कथाकार चेतनाथ आचार्यले आफ्नो ५ वर्षे चीन बसाईको उपलब्धी स्वरुप यो कथासङ्ग्रह प्रकाशनमा आएको उल्लेख गरे । कथासङ्ग्रहप्रति विद्धानहरूले दिएका सुझाव र प्रशंसाले आफू निक्कै उत्साहित भएको बताए । मकालु प्रकाशन गृहले आयोजना गरेको सो कार्यक्रमको सभापतित्व प्रकाशक बासुदेव ढकालले गरेका थिए ।

कथाकार आचार्य पेशाले पत्रकार हुन् । उनी विगत ५ वर्षदेखि नेपाली भाषा विज्ञको रुपमा सिआरआई नेपाली सेवाको पैचिङ अफिसमा कार्यरत छन् । उनको यो तेस्रो कथासङ्ग्रह हो । उनले यसअघि रित्तो कोठाको तस्बिर (२०६८) र बुद्धको उपहार (२०७१) कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यसैगरी उनका समसामयिक लेखहरुको सङ्ग्रह मेरा आँखामा चीन (२०७२) र संस्मरण सङ्ग्रह चीन चियाउँदा (२०७४) प्रकाशित भइसकेका छन् । आचार्यले विविध समसामयिक र नेपाल–चीनसँग सम्बन्धित लेखहरु नेपालका विभिन्न राष्ट्रिय दैनिकमा स्तम्भकारका रुपमा पनि लेख्दै आएका छन् ।

Loading...