नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक लगाइने

पर्यटन मुख्य समाचार

हुम्ला, १९ असोज, नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।

एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँसभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ ।

हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौँतारिरहेका छन् । कहिले महँगो भाडा, कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ होइन । बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीलगायतको उपस्थितिमा सोे निर्णय गरेको हो ।(रासस)

Loading...