मगरको ‘पुर्ख्यौली नाच’ चित्र प्रदर्शनीमा

कला/संस्कृति विषेश समाचार

मीना घोरसाइने,  काठमाडौँ, १८ असोज नेपालीपन झल्काउने विविध जातजातिका चित्रकला हामीले देख्दै आएका छौँ । तर कुनै जाति विशेषका बारेमा बनाइएका चित्र विरलै देख्न पाईन्छ । यसरी कुनै जाति विशेषका बारेमा चित्र बनाउने कलाकार पनि कमै होलान् । चित्रकलामार्फत आफूलाई मात्र चिनाउने अभियानमा धेरै चित्रकार लागेका बेला आफ्नो चित्रमार्फत विशेष जातिलाई चिनाउने अभियानमा लाग्नुभएको छ, चित्रकार सुनिल रञ्जीत ।

उहाँ भन्नुहुन्छ, “म फरक काम गर्न चाहन्थें र फरक विषयको खोजीमा पनि थिएँ, मैले एक दिन प्रत्यक्षरुपमा मगर जातिको ‘पुर्ख्यौली नाच’ अवलोकन गर्ने मौका पाएँ, त्यहीबाट मलाई यस नाचबारे चित्र बनाउने प्रेरणा मिल्यो ।” मगर जातिको मौलिकतापन देखेर नै रञ्जीतले चित्र बनाउन थाल्नुभएको बताउनुभयो । “मैले बनाएको चित्रलाई मगर समुदायको बाहुल्यता भएको पोखरा क्षेत्रमा प्रदर्शनी गरेर विदेशका अन्य मुलुकमा पनि प्रदर्शनी गर्ने तयारी गरेको छु”, उहाँ भन्नुहुन्छ ।

आफूले त्यस नाचको प्रस्तुति देख्नु अगाडि मगर जातिको मौलिक संस्कृति झल्कने खालको पुर्खाको आह्वान गर्ने परम्परा रहेको अनुभूति गरेको छु । नाचको प्रस्तुतिको प्रारम्भमा चोखो शरीर भएको मानिसको शरीरमा देवता (पुर्खा) उत्रने गर्दछ । चाहे पुरुष होस् वा महिला नाच हेर्नेवित्तिकै बेस्सरी काप्ने गर्दछन् । वास्तवमा मगर संस्कृतिको प्रमुख नाच नै पुर्ख्यौली नाच हो । नाचको प्रारम्भमा मगर जातिका महिला तथा पुरुष समूहमा बसेर मादल बजाइ आफ्ना पुर्ख्यौली देवतालाई पुकार्न थाल्छन् । केही समय देवतालाई पुकारिसकेपछि नाचको थालनी हुने गर्दछ ।

यो नाच विशेष गरी धवलागिरि क्षेत्रका पुन मगर समुदायले नाच्ने गर्दछन् । यो नाच मगर समुदायले जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, चाडपर्व, मेला आदिमा प्रस्तुत गरिँदै आएका छन् । रञ्जीतले बनाउनुभएको चित्र कठिन भए पनि सरलरुपमा बनाउनुभएको अनुभव कलाकार तथा लेखक नवीन्द्रराज राजभण्डारीको छ । “शायद यो नै चित्रकारको पहिलो पहिचान हो”, उहाँ भन्नुहुन्छ । चित्रकार रञ्जीत बहुआयामिक प्रतिभाका धनी हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, “चित्रकार रञ्जीतको चित्रमा सरलीकृत र गतिशीलता छ ।”

पुख्र्याैली नाचका बारेमा लेखक तथा अनुसन्धानकर्मी प्रतिभा पुन भन्नुहुन्छ, “यो नाचलाई पुरानो नाच, बुढापाकाको नाच, सोरसोती उतार्ने नाच, हाई हाल्ने नाच, सोरठी नाच पनि भन्ने गरिन्छ ।” आख्यानसहितका यो नाच जातीय नृत्यशैलीमा, जातीय वेषभूषा तथा मौलिक क्षेत्रीय भाषिकामा प्रस्तुत हुने गर्छ ।

चित्रकार रञ्जीतले बनाउनुभएको ‘पुर्ख्यौली नाच’ चित्र असोज १८ देखि २२ गतेसम्म अनामनगरस्थित सर्वनाथ थिएटरमा प्रदर्शनीमा राखिएको छ । आज एक कार्यक्रमका बीच सो चित्रकला प्रदर्शनीको उद्घाटन गरिएको छ । (रासस)

तस्विर: आजको खबर

Loading...