निकुञ्जकि एक्ली माहुते बिमला

मुख्य समाचार रोजगार विषेश समाचार

शेरबहादुर सिंह, भीमदत्तनगर, १७ असोज, प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन विभेद अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ पलियाका २४ वर्षीया विमला चौधरी अब्बल महिलाका रुपमा देखिएकी छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास रहेपनि चौधरीको जङ्गल र वन्यजन्तुसितको सामिप्यता भने त्यति धेरै थिएन । गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘माहुते’ पदमा जागिर खाएपछि उनी भीमदत्त नगरपालिका–१३ स्थित हात्तीसारमा घरपालुवा हात्तीसित भेटिन्छन् ।

शुक्लाफाँटा निकुञ्जमा शारदाकली (हात्ती) को स्याहार गरिरहेकी विमलाको दैनिकी यहाँका अरु महिलाको भन्दा फरक छ । “बिहानै उठेर हात्तीको आँखा धुनेदेखि हात्तीको स्याहार गर्नु दैनिकी नै हो ।” विमलाले रासससित भन्नुभयो, “शुरुमा त अलि अप्ठयारो लाग्थ्यो । विस्तारै सामान्य हुँदै गयो ।”

हात्तीसँगै शुक्लाफाँटामा नियमित वन्यजन्तुको सुरक्षाको लागि गस्तीसमेत जाने गरी चौधरीको काम अन्य कुनै माहुत, फणित र पछुवाको भन्दा कम छैन । “शुरुमा त जङ्गलमा हात्तीसित जानै डराउथेँ” उहाँले भनुभयो, “जागिर खाएलगत्तै हामीलाई दिइएको तालीमले जनावरसित घुलमिल हुनेदेखि जनावरले आक्रमण गर्न खोजेमा कसरी बच्न सकिन्छ भन्ने विषयमा धेरै कुरा सिकायो ।”

हात्तीसितको निकटता बढ्दै गएको बताउँदै उहाँले जङ्गलमा वन्यजन्तुसितको सहकार्य सहज रहेको जानकारी दिनुभयो । “अब त गाउँ÷बस्तीभन्दा जङ्गल नै प्यारो लाग्छ” उहाँले भन्नुभयो, “यहाँको स्वच्छ हावापानीले मनलाई बेचैन हुन दिन्न ।” विमलाले आफ्नो जागिरले परिवारमा समेत खुशियाली आएको बताउनुभयो ।

“हाम्रो समुदायका महिला अझै पनि समाजमा खुल्न सकिरहेका छैनन् ।” चौधरीले भन्नुभयो, “हिम्मत गरेर जस्तोसुकै कठोर कामसमेत महिलाले गर्न सक्छन् ।” उहाँले घरपालुवा जनावरको रेखदेख गर्ने आफू शुक्लाफाँटाको एक मात्रै महिला कर्मचारी रहेको बताउनुभयो ।

“पहिले एक जना अर्को महिला पनि माहुते पदमै कार्यरत रहेको सुनेको थिएँ” चौधरीले भन्नुभयो, “पुरुषसरह नै हात्तीको स्याहारमा जुट्दा यहाँ आउने पर्यटक मलाई खुबै नियालेर हेर्छन् ।” “अब त वन्यजन्तुको आनीबानीबारे पनि धेरै जानकारी पाइसकेँ” उहाँले भन्नुभयो, “वन्यजन्तु भनेका हाम्रा अमूल्य सम्पत्ति हुन् ।”

तेह्र वर्षदेखि शुक्लाफाँटा निकुञ्जमै हात्तीको चराउन ‘फणित’ पदमा कार्यरत भीमदत्त नगरपालिकाका आनन्द माझी माहुते विमलाको हिम्मत देखेर चकित छन् । “विमलाले थोरै समयमा कुरा सिकिसक्नुभयो ।” माझीले रासससित भन्नुभयो, “उहाँ (विमला) महिला भए पनि हिम्मत कुनै बलवान् पुरुषको भन्दा कम छैन ।”

शुक्लाफाँटा निकुञ्जका विभिन्न पोष्टमा हात्तीसित बनिसकेका माझी पनि वन्यजन्तुका बारेमा धेरै जानकार छन् । “निकुञ्जको कुन क्षेत्रमा कस्ताखालका वन्यजन्तुको बासस्थान छ धेरै थाहा पाइसक्यौँ ।” उहाँले भन्नुभयो, “गस्तीमा जाने धेरै साथी बाघ, गैंडा मज्जाले हेर्दै रमाउन पाइरहेका हुन्छन् ।”

जङ्गलको बसाई सुखद् रहेको बताउँदै उहाँले चोरी शिकारी नियन्त्रणका लागि अप्ठयारो ठाउँसम्म हात्तीको सहारामा नियमित गस्ती गर्ने गरेको बताउनुभयो । हात्तीमा गस्ती जाँदा ‘फणित’ले नेतृत्व गर्छ । उहाँले भन्नुभयो, “हात्तीले खाने आहारलाई कुची भन्छौँ ।”

कुर्ची अर्थात् (घाँस, धान, गुड र नून) बाट बनेको हात्तीको आहारा बनाउने काम ‘पछुवा’ पदमा कार्यरत कर्मचारीको हुन्छ । “शुरुमा त हात्ती नजिक जानै डर लाग्थ्यो” माझीले भन्नुभयो, “अहिले त हात्ती नजिकको साथी भाको छ ।”

हात्ती हाक्ने, चराउनेदेखि स्याहार गर्नसम्म फणित, पछुवा र माहुत गरी तीन पदमा शुक्लाफाँटामा २१ जना कर्मचारी कार्यरत छन् । शुक्लाफाँटामा शुक्लाफाँट, पिपरीया र मालुमेला गरी तीनवटा हात्तीसार रहेका छन् । यहाँ अहिले अपकल, शिद्धप्रसाद, सूर्तीकली, लबप्रसाद, नारायणप्रसाद, शारदाकली र रतनकली नामकका हात्ती रहेका छन् ।

“शुक्लाफाँटामै १० वर्ष पहिले जन्मेको नारायणप्रसाद अहिले गस्ती जान थालिसक्यो” आनन्द माझीले भन्नुभयो, “नारायणप्रसाद अलि बढी आक्रोशित हुन्छ ।” शुक्लाफाँटामा माहुतदेखि फणितसम्म यहाँका आदिवासी जनजाति समुदायका युवा बढी कार्यरत छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले माहुत पदमा शुक्लाफाँटामा हाल विमला एक मात्र महिला माहुते कार्यरत रहेको बताउनुभयो । निमित्त संरक्षण अधिकृत घिमिरेका अनुसार दुई वर्षअघि अर्को महिलाले जागिर छाडेपछि विमला एक्ली महिला माहुते रहेकीछिन् ।(रासस)