स्थानीय निकायको विकास साझेदार समन्वय सम्मेलन जनकपुरमा

प्रदेश मुख्य समाचार

जनकपुर, १७ असोज, युनिर्भसल पीस फेडेरेशन नेपालले २ नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका मेयरहरुबीच विकास साझेदार समन्वय गर्न जनकपुरमा मेयर कन्फेरेन्स गरिएको छ । मंगलबार सम्पन्न सम्मेलनको उद्घाटन २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरे ।

उद्घाटन पश्चात बोल्दै मुख्यमन्त्री राउतले शान्तिको अभियान आजको आवश्यकता भएको बताए । यसको सुरुवात परिवारबाट गनुपर्नेमा पनि उनले जोड दिए । यस्ता सम्मेलनले पारिवारिक मिलन गराउनाका साथै पारिवारिक मूल्य, मान्यता र असल संस्कारलाई नेपाली समाजमा स्थापित गराउने उनले बताए । मुख्यमन्त्री राउतले यस्ता कार्यक्रमले स्थानीय तहको विकासका समेत सहयोग पुग्ने बताए । जनकपुरमा ८ वटा जिल्लाका मेयर र उपमेयरहरुले परिवारसहित सहभागिता जनाएका थिए ।

जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिनाकुमारी मिश्रले स्थानीय निकायमा कानुन र विकास एक अर्काका परिपुरक हुन् भन्ने कुरामा हामी अन्यौलमा परेको बताइन् । सम्मेलनमा स्थानीय निकायमा गरिने विकासको मोडल र नयाँ संविधानले दिएको कानुनी अधिकारबारे स्थानीय निकायलाई जानकारी गराइएको थियो ।

नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिन आ–आफनो जोडीसहित कार्यक्रममा उपस्थित भएर २ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूले एकबद्धता जनाएका थिए ।

राजनीतिक विश्लेषक लालबाबु प्रसाद यादवले संविधान र नयाँ कानुनको कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै गरी आफ्नो नगरपालिका र गाउँपालिकामा कुन किसिमको विकासको नमुना अभ्यास गर्ने भन्ने विषयमा प्रा.डा चन्द्रमणि अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोबर्ट एस किट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा उपस्थित सम्पूर्ण प्रदेशका स्थानीय निकायका प्रमुखहरूले स्थानीय तहको विकास र समृद्धिको उद्देश्यले ‘शान्तिका लागि नगर प्रमुखहरू अन्तर्राष्ट्रिय संगठन’ स्थापना गर्ने ऐक्यबद्धता जनाउँदै हस्ताक्षर समेत गरे । कार्यक्रममा संगठनका प्रदेश संयोजक पुरुषोत्तम कार्कीले सम्मेलन फलदायी भएको बताउँदै अहिलेको समय सापेक्ष स्थानीय तहका लागि आवश्यक समेत महसुस गरिएको जानकारी दिए ।

सम्मेलनको सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश समेत सिराह नगरपालिकाकी उपप्रमुख डा. नमिता यादवले पढेर सुनाएकि थिइन् । जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिना कुमारी मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद बेचु लुङ्गेली, पूर्व सभासद बबन सिंह, विश्व शान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले बोलेका थिए ।

Loading...