जितिया पावनी: परिवारिक सुख शान्तिको प्रतीक

कला/संस्कृति मुख्य समाचार

नारायण ढुङ्गाना  काठमाडौँ, १६ असोज निधारमा चाँदीको मन्टिका, गलामा हँसुली, पाखुरामा बाजु, नाडीमा कतृ तथा कम्मरमा डटकस पहिरिएकी रेणु चौधरी मौलिक पोशाकमा हुनुहुन्थ्यो । नीलो ब्लाउज र सेतो साडीमा सजिएकी उहाँको खुट्टामा चाँदीका पाउजु र कारा पनि थियो । थारू महिलाको मौलिक जितिया पावनी (जितिया पर्व) मनाउन काठमाडौँको बानेश्वरमा भेला भएकी रेणुसँगै कल्पना चौधरीपनि उस्तै पोशाकमा हुनुहुन्थ्यो ।

एकअर्कामा शुभकामना साटेर परिवारको शुखशान्तिका लागि जितिया पर्व मनाउन आज दिउँसो यहाँ सयौँ थारू महिला सहभागी थिए । तराईका जिल्लामा मनाइने जितिया पर्व पछिल्ला दिनमा काठमाडौँमा पनि मनाउन थालिएको छ । “हाम्रो आफ्नो संस्कृति त बचाउनुप¥यो नि,” रेणुले भन्नुभयो । प्रायः विवाहित महिलाले परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै व्रत बसेर जितिया मनाउँछन् । नवविवाहित महिलाले जुन वर्ष शनिबार जितिया पर्छ, त्यही दिनबाट मात्रै विधिपूर्वक पर्व मनाउन शुरु गर्ने चलन छ ।

त्यसैले विवाह भएको वर्षौं हुँदासमेत केही महिलाले पर्व मनाउन पाएका हुँदैनन् । यसलाई उनीहरुको भाषामा सुइत (साइत) नलागेको भनिन्छ । पाँच वर्षअघि विवाह गरेकी ममता चौधरीलाई सुइत लागेको छैन । “रहर भए पनि जितिया मनाउन पाएको छैन, सुइतको पर्खाइमा छु्,” ममताले भन्नुभयो ।

जितिया पर्वको आफ्नै मिथक छ । बिहान भाले नबास्दै दर खाएका थारू महिलाले जितमहानको कथा सुनेर आज पानी नै नखाई व्रत बस्छन् । आफ्नो पति र सन्तानको दीर्घायुका लागि व्रत बस्ने थारू महिलाले जितमहानको पूजा गर्ने परम्परा रहेको बताउनुहुन्छ, थारू महिला समाज नेपाल, काठमाडौँ उपत्यका समितिकी अध्यक्ष गीताकुमारी चौधरी ।

संस्कृति हराउन नपाओस् भनेर आज दिदीबहिनीहरु भेला भएर काठमाडाँैमा पर्व मनाएको उहाँको प्रतिक्रिया छ । सप्तमीका दिन दर खाने अर्थात् लाहा खाने चलन हुन्छ । आज अष्टमीका दिन उपवास बस्ने, जितमहानको कथा सुन्ने र गाउँका महिला जम्मा भई झमटा नाचेर पर्व मनाउँछन् ।

निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । परिवार भेला भई मीठो मसिनो खाएर यो चाड मनाउने परम्परा छ । नवमीका दिन विधिपूर्वक जितिया समाप्त हुन्छ । हिन्दू महिलाले मनाउने तीज पर्वसँग मिल्दोजुल्दो जितिया हो । तर जितियामा विवाहित महिलाले मात्रै व्रत बसेर पर्व मनाउँछन् । तीजमा भने सबै महिला व्रत बस्छन् । तराई जिल्लामा थारू समुदायको बसोबास रहे पनि नवलपरासी पूर्व मात्रै जितिया मनाउने चलन छ ।

संस्कृति संरक्षणमा एकजुट होऔँ :उपसभामुख तुम्बाहाम्फे

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । जातजाति, भाषाभाषी र संस्कृतिको धनी देश भएकाले हरेक संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा उहाँको जोड थियो  थारू महिला समाज नेपाल, काठमाडौँ उपत्यका समितिको आयोजनामा आज यहाँ भएको ‘राष्ट्रिय थारू जितिया महोत्सव’को उद्घाटनपछि मन्तव्य राख्नुहुँदै उपसभामुख तुम्बाहाम्फेले संस्कृति संरक्षणको विषय संविधानमै सुनिश्चित भएकाले संविधान कार्यान्वयन गर्नु हामी सबैको कर्तव्य भएको उहाँको भनाइ थियो ।

संस्कृतिको नाममा हुने विभेदको अन्त्य गर्दै असल र मौलिक संस्कृति संरक्षणका लागि उहाँले थारू समुदायलाई आह्वानसमेत गर्नुभयो । कार्यक्रममा थारू बुद्धिजीवी बुद्धसेन चौधरीले जितिया पर्व एक विजय उत्सव भएको उल्लेख गर्नुहुँदै जितिया थारूको पहिचान मात्रै नभई राष्ट्रिय पहिचान भएको आँैल्याउनुभयो ।

संस्कृतिको नाममा बेथिति बढ्न थालेकामा उहाँले चिन्ता प्रकट गर्नुभयो । सो क्रममा थारू समुदायको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै केही थारू प्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको थियो । थारू युवाले कार्यक्रममा मौलिक गीतसमेत प्रस्तुत गरेका थिए ।

Loading...