जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना

कला/संस्कृति मुख्य समाचार

जनकपुरधाम, १६ असोज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वकै धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको बताउनुभएको छ ।

महात्मा गान्धी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘गान्धीको स्वच्छता र राजनीतिक स्वतन्त्रता’ विषयक संगोष्ठीमा उहाँले प्रदेशलाई हरित र स्वच्छ बनाउन प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । मुख्यमन्त्री राउतले स्वच्छता गैरसरकारी संस्थाको कागजमा मात्र नभई व्यवहारमा स्वच्छताको खाँचो छ भन्नुभयो । महात्मा गान्धी विश्वात्मा भएको बताउँदै उहाँले गान्धीको स्वेच्छता अभियान इमान्दारिता र आचरणसँग सम्बन्धित भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

गान्धीको जीवन नै विचार र आदर्श हो भन्दै मुख्यमन्त्री राउतले गान्धी एउटा व्यक्ति, दर्शन, विचार नभई जीवन जिउने तरिका भएकाले यसलाई सबैले जीवनमा आत्मसात् गर्नु जरूरी भएको उल्लेख गर्नुभयो ।प्रदेशसभा सदस्य रामआशीष यादवले गान्धीको दर्शन गीताभन्दा पनि बहुमूल्य रहेको भन्दै कर्म र ज्ञानको प्रधानता रहेको गान्धीको दर्शनले स्वयंमा पनि परिवर्तनको आवश्यकतामा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य चमेली दास र प्राध्यापक डा भागेन्द्र झाले गान्धीको दर्शन मानवकल्याणका लागि केन्द्रित रहेको धारणा राख्नुभयो ।समितिका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको सो गोष्ठीमा भारतीय दूतावासका डेप्युटी चिफ अफ मिशन डा अजयकुमारले गान्धीभित्र प्रबल शक्ति भएको चर्चा गर्दै गान्धी अनुरूपको स्वच्छता र स्वतन्त्रताका सन्दर्भमा समाजको सोचमा व्यापक परिवर्तनको खाँचो औँल्याउनुभयो ।(रासस)

Loading...