मन्त्री गिरीद्वारा ‘जङ्गलकुटीको’ अवलोकन

मुख्य समाचार स्वास्थ्य

लमही, १४ असोज ९ प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गर्नुभएको छ । उहाँले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’ र त्यस क्षेत्रका वनजङ्गलको आज अवलोकन गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री गिरीले थारू समुदायको धार्मिक आस्थाको धरोहरको जङ्गलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउनुभयो । त्यसका लागि गुरुयोजना बनाएर काम गर्ने उहाँको भनाइ थियो । “जङ्गलकुटी पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र रहेछ”, उहाँले भन्नुभयो, “त्यसलाई प्रदेश नं ५ को महत्वपूर्ण पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिन्छ ।” मन्त्री गिरीसँगै प्रदेशसभा सदस्य इन्द्रजीत चौधरी, दामा शर्मा, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलगायतले सो क्षेत्रको अवलोकन गर्नुभयो ।

विसं १८७९ मा दाङ देउखुरी क्षेत्रको घना जङ्गलमा भुवनेश्वरनाथले सिद्धी प्राप्त गरेको सिद्धनाथबाबा जङ्गलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न सरकारी तथा निजी क्षेत्रले ध्यान दिएका छन् । यसअघि पनि कुटी संरक्षण समितिले कुटी क्षेत्रमा अतिथि गृह, शौचालय र कार्यालय निर्माण गरेको छ । मन्दिर क्षेत्रलाई सुरक्षित राख्न तारबार, मुख्य प्रवेशद्वार तथा पुरानो संरचना नबिग्रने गरी भवनको चारैतर्फ खम्बासहितको छत निर्माण गरी रङ्गरोगन गरिएको छ ।  ऐतिहासिक महत्व तथा पुरातात्विक सम्पदाको कुटीमा सिद्धी प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जङ्गल घुम्ने गरेकाले उनलाई ‘बाघनाथ’ भन्न थालिएको कुटीका पुजारी देवीसिंह चौधरीको भनाइ छ ।

कुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्दछ । दशैँ, तिहार,शिवरात्री र चैते दशैँमा समेत भक्तजन आउने गर्छन् । बाबाको खराउ, खाट, पूजाको सामग्री, ओछ््यानलगायत थुप्रै पुराना सामग्री कुटीमा छ भने १९३ वर्षअघि अगेनामा बालिएको आगोलाई अभैm निभ्न दिइएको छैन । थारू समुदायमा उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाएर मात्र आफ्ना लागि प्रयोग गरेमा निरोगी हुनुका साथै बाबाको आर्शीवाद सधैँ प्राप्त हुने विश्वास रहिआएको छ ।

ऐतिहासिक रूपमा अगाध धार्मिक आस्थाको सो जङ्गल कुटीलाई राष्ट्रिय तथा विश्व सम्पदा सूचीमा अभिलेखीकरण गर्न सकियो भने ऐतिहासिक सम्पदाको संरक्षणमा कोसेढुङ्गा सावित हुने र पर्यटकीय सम्भावनासमेत बढाउने विश्वास गरिएको छ । दाङ–बुटवल सडक खण्डको कालाकाटेबाट १६ किलोमिटर पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोवरडिया गाउँदेखि ७ किमी दक्षिण चुरे पहाडको काखमा जङ्गलकुटी छ । जङ्गलकुटीको पहाडको टुप्पोबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भू–भागको दृश्य देख्न सकिन्छ ।

 

Loading...