संयुक्त अस्थायी–करार शिक्षक केन्द्रीय संघर्ष समितिको चेतावनी !

मुख्य समाचार शिक्षा

काठमाडौं, १३ असोज, संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाई झैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाइ दिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । काठमाडौँमा आज एक पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो ।

समितिले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नको लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दीहरु विज्ञापन नम्बर ३ मा परीक्षा दिने परीक्षार्थीहरुको व्यवस्थापनमा समायोजन गर्नुपर्ने पनि माग गरेको छ ।

त्यस्तै समितिले आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनु पर्ने पनि माग गरेको छ । समितिले यति गर्दागर्दै पनि यदि कोही साथीहरु विस्थापन हुने अवस्था देखिएमा अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्थापना गर्नुपर्ने पनि माग अघि सारेको छ ।

त्यस्तै सुविधाको फारम भरेका अस्थायी शिक्षकहरुलाई दिइने भनिएको उपदान रकम औषधोपचारको खर्चसहित एकमुष्ट प्रदान गर्न अविलम्ब प्रकृया शुरु गर्नुपर्ने माग पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफूहरुले अघि सारेका मागहरु पूरा गर्न अविलम्ब प्रकृया अगाडि नबढाईएमा समितिले पुनः विगतका भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

समितिका अध्यक्ष हेमनाथ चौलागाँईले सबै प्रकृतिका अस्थायी शिक्षकहरुलाई बिना भेदभाव ४० अंक आउँदा उत्तीर्ण हुने वातावरण बनाउन सरकारसँग माग गरे । उनले भने, ‘म यही कार्यक्रममार्फत राज्यलाई भन्न चाहन्छु, की सरकारले हाम्रा मागहरु संघीय शिक्षा ऐनमार्फत सम्बोधन गर्नुपर्छ । यदि सरकारले हाम्रा मागहरु सम्बोधन गरेन भने हामी बाध्य भएर सडक संघर्षमा उत्रिन्छौं ।’

समितिले यही असोज २१ गतेसम्म आफ्ना मागहरु पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । यदि असोज २१ गतेसम्म पनि माग पूरा नगरे बाध्य भएर आफूहरु देशव्यापी रुपमा अस्थायी, करार, राहत, विद्यालय कर्मचारी र बालविकास शिक्षकहरु संयुक्त रुपमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको निषेधित क्षेत्र पनि तोड्ने समितिका अध्यक्ष चौलागाँईले बताए ।

समितिले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामूदायिक विद्यालयहरु बन्द गर्ने जानकारी दिएको छ ।

अध्यक्ष चौलागाँईले राज्यले आफूहरुलाई विभिन्न समूहमा विभाजित गरेर आन्दोलनलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘हामीले जीवनको ३० औं वर्ष हाम्रो उर्वर समय खर्च गरिसक्यौं । अहिले गलहत्याएर त्यतिकै अपमान गरेर रित्तो हात फर्काउन पाईँदैन ।’

Loading...