कलङ्की–नागढुङ्गा सडक विस्तारको माग

ट्राफिक/प्रहरी

काठमाडौँ, १२ असोज चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।  सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो ।

अदालतको निर्देशन अघि सहमतिमा सडक विस्तारका लागि स्थान छोडेको ठाउँमा पनि कालोपत्र नहुँदा सडकमा सवारी चलाउन एवं हिँड्न नसकिने अवस्थामा पुगेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । “काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले छनोट गरेको निर्माण व्यवसायीले वर्षौँ बित्दा पनि काम गर्न सकेको छैन, नगरपालिकालाई जिम्मेवारी दिए तीन महिनामा यो सडक बनाउँछौँ, उपत्यका भित्रिने र बाहिरिने प्रमुख मार्गमा सरोकार भएका निकायको ध्यान नजानु लाजमर्दो छ”–उहाँले भन्नुभयो ।

यो मार्ग भएर दैनिक १५ हजारभन्दा बढी सवारी आवतजावत गर्छन् । कलङ्कीमा निर्माण भएको नेपालकै पहिलो ‘अण्डरपास’ केही दिन सञ्चालन भएर बन्द हुँदा पनि यो मार्गमा चाप बढेको नगरपालिकाले जनाएको छ । स्थानीय सचिन पाण्डे पानी परेका बेला हिलाम्मे र घाम लागेका समयमा धुलाम्मे सडक हुने गरेकाले सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या पर्ने गरेको बताउनुहुन्छ । यो सडक विस्तारको जिम्मेवारी शैलुङ कन्स्ट्रक्सनले पाएको छ ।

‘अण्डरपास’ एक हप्तापछि खुल्ने

बल्खु–खसीबजार एक हजार २०० मिटर सडक कालोपत्र भइरहेकाले केही दिनका लागि भूमिगत मार्ग (अण्डरपास) बन्द गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो । सो मार्गको ८०० मिटर सडक भने कालोपत्र भइसकेको छ । एक हप्तामा कालोपत्र सकी  सो भूमिगत मार्ग खोलिने जनाइएको छ ।

कोटेश्वर–बल्खुपुल–कलङ्की १० दशमलव ४ किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिमचरणमा पुगेको छ । चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

आयोजनाले पहिलो तहको कालोपत्र सकी दोस्रो तहको गर्ने तयारी गरेको छ । चिनियाँ निर्माण व्यवसायीले आगामी डिसेम्बर १५ सम्म पहिलोचरणको १० दशमलव ४ किमी चक्रपथ विस्तार गरी सडक विभागलाई हस्तान्तरण गरिसक्ने जानकारी गराएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।(रासस)

Loading...