सोह्रश्राद्धमा किन गरिन्छ पितृपूजा ?

मुख्य समाचार विचार

– स्व. जयराज पन्त
अहिले पितृपक्ष चलिरहेको छ । यस एक पक्ष वा पन्ध्र दिनमा सनातन परम्परानुयायीहरू पितृहरूप्रति श्रद्धा भक्ति अर्पण गरी आफूलाई सन्तुष्ट तुल्याउँछन् ।

हरेक व्यक्तिका लागि पितृहरू श्रद्धाका पात्र हुन्छन् । तिनकै योगदानबाट सन्तानले दुनियाँ देख्न पाएको हुन्छ । सन्तानका सृष्टिकर्ता नै पितृगण हुन् । तिनले गरेको काम ज्यादै मूल्यवान् मानिने र त्यसबाट उन्मुक्ति पाउन नसकिने हुँदा केवल कृतज्ञता जनाउन तिनका प्रति वर्षका निश्चित तिथिमितिमा श्राद्ध गर्ने चलन छ । श्राद्ध गर्नु भनेको श्रद्धा गर्नु हो । श्रद्धाको भावनाबाट अभिप्रेरित नभई गरिएको श्राद्ध सार्थक मानिँदैन । त्यसलाई बोझ, अनावश्यक पारिवारिक तथा सामाजिक दबाब, भित्री मनले नस्विकारेको चलन र गलत परम्परा मान्ने व्यक्तिले श्राद्ध नगरे पनि हुन्छ । अचेल अन्धविश्वास, आडम्बर, मूर्खता, तर्कहीन र सारहीन मान्दै सकेसम्म यस प्रकारका कार्यबाट पन्छन खोज्ने प्रवृत्ति पनि समाजमा बढ्दै गएको देखिन्छ । वास्तवमा कुनै पनि पितृले सन्ततिले दिएको पिण्डपानी पाउने भन्ने कुरा सामान्य तर्कका आधारमा पनि त्यति विश्वासिलो लाग्दैन । श्राद्धमा चढाइएको सामग्री पितृहरूले पाउने नपाउने कुरा भन्दा पनि निश्चित समय जुराएर पितृले गरेका योगदानप्रति श्रद्धावनत भई त्यसबाट पाठ सिकी आपूmले पनि त्यस्तै काम गरेर परिवार तथा समाजको कल्याण गर्ने अभिप्रेरणा लिनु नै श्राद्धबाट सिक्नु पर्ने कुरा हो । श्राद्धले स्थापित गरेको आधारभूत मान्यता पनि त्यही हो ।

‘उहिले मरे आमाबाबु अहिले झरे आँसु’ भन्ने नेपाली उखानको कार्य रूपमा देखिने व्यवहार श्राद्ध होइन । यसले त व्यक्तिलाई भावनाशील, मनकारी, श्रद्धावान्, त्यागी, पितृभक्त, सामाजिक, व्यावहारिक र ज्ञानी बनाउन मद्दत गर्दछ । श्राद्धको बहानामा गाउँबस्तीका आफन्त एक ठाउँमा जम्मा भएर सँगै खाने र भलाकुसारी गरी अपनत्वको आदान प्रदान गर्ने जुन चलन छ त्यसले पनि सामजिक संरचनालाई मजबुत तुल्याउने काम गरेको देखिन्छ । सन्तानलाई पितृगणको सम्झना दिलाई राख्न पनि यसले मद्दत पु¥याउँछ । शास्त्रले पितृहरू प्रसन्न भएमा असाधारण स्तरको लाभ दिलाउने र अप्रसन्न भएमा निकै ठूलो हानी हुने कुरा व्यक्त गरी व्यक्ति, परिवार तथा समाजलाई अनुशासित, संयमित र नियमबद्ध बनाउने प्रयत्न गरेको छ । यस प्रकारका निर्देशले पनि प्रतीकात्मक अर्थ संवहन गरेका छन् । पितृगणलाई सम्मान गर्ने श्राद्धको पक्ष वा पर्व मनाउने परम्पराले समाजमा सच्चरित्र, कर्तव्य पालन, इमान्दारी, आस्था, विश्वास र समर्पणको भाव स्थापित गरेको छ । यो नै श्राद्धको प्रतीकात्मक अर्थ हो ।

मेरा परम पूज्य पितृहरूका साथै समस्त प्राणी जगत्का पितृहरूप्रति आज म हार्दिक नमन गर्दछु । समस्त प्राणी जगत हाम्रो नातेदारीमा पर्दछ । त्यस दृष्टिले सारा चराचर जगतका पितृहरू सबैका पितृ हुन् । ती सबैमा तर्पणको तिलाञ्जली अर्पण गर्दै यस आलेखरूपी शब्द पुष्प चढाएर हार्दिक श्रद्धा निवेदन गर्दछु । जय पितृदेवता, जय पितृगण ।

– प्रा.जयराज पन्तका वैचारिक विरासत (२०७४), पेज नं. १४८–१४९

Loading...