उत्पीडित जातिको मुक्ति अझै हुन सकेन्

राजनीति

बनेपा, असोज ६ नेपाल कम्युनिष्ट  पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालमा उत्पीडित जातिको मुक्ति अझै हुन नसकेको बताउनुभएको छ ।अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज काभ्रेपलाञ्चोकको बनेपामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबै वर्गको मुक्तिका लागि अझ संघर्ष गर्नुपर्ने आवश्यकता छ ।”

नेता वैद्यले आन्तरिक राष्ट्रियता भनेको नै सबै उत्पीडित जाति र समुदायको मुक्ति हो भन्दै बाह्य राष्ट्रियताको मुद्दा निकै पेचिलो बन्दै गएको अवस्थामा अहिलेको सरकारले लिएकोे समृद्धिको नारा पूरा गर्न कठिन हुने बताउनुभयो ।देशमा अझै गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार र अशिक्षा रहेकाले समृद्धि सम्भव नहुने बताउँदै उहाँले त्यसको अन्त्यका लागि सरकारले प्रभावकारी योजना बनाएर त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्छ भन्नुभयो ।

अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य लक्ष्मी मुठवारीले महिला, जनजाति र उत्पीडित वर्ग एंव समुदायको सशक्तिकरण र न्यायका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक फुर्नाम्गेल मोक्तानको अध्यक्षतामा भएकोसो सम्मेलनमा १५ जिल्लाका  पर्यवेक्षकको सहभागीता रहेको जनाएको छ ।