एकदिवसीय क्रिकेटमा नेपाल चौथो

खेलकुद मुख्य समाचार

काठमाडौँ, २ असोज, भारतको लखनउमा सम्पन्न उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृखलामा नेपालले चौथो स्थान हासिल गरेको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानको भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो ।

त्यस्तै प्रतियोगिताको उपाधि भने भारतको बि टोलीले हात पारेको छ । आजै भएको फाइनल खेलमा भारतको बि टोलीले भारतकै ‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो ।

अफगानिस्तानको जीतमा रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बलमा २ छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २२ विकेट लिएका थिए ।

यता नेपालका लागि भने मोहमद आशिफ शेख र लोकेश बामले २५÷२५ रन जोडे । अरुण ऐरीले २४, पवन सर्राफले २३, सुनदीप जोराले १८, भीम सार्कीले १६, रीत गौतमले १४, मोहमद सांसद आलमले १२ तथा कमल ऐरीले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।(रासस)