प्रचण्ड र चीनको येनान नगरका सेक्रेटरीबीच छलफल

मुख्य समाचार राजनीति

चीन, १ असोज, चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आइतबार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गरेका छन् । सो अवसरमा प्रचण्डले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायमा धन्यवाद ज्ञापन गरे ।

‘धेरै पटक चीनको भ्रमण गरेपनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ’ उनले भने ।

सोही अवसरमा प्रचण्डले येनानमा बसेर माओले विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माओत्सेतुङ विचारधारा भएको उल्लेख गर्दै आफूहरुले यसै विचारको अध्ययनबाट प्रेरित भएको बताए । येनान नगरको अवलोकन गर्दा आफूलाई गौरवान्वित महसुस भएको पनि उनको भनाई थियो ।

अध्यक्षले छलफलका क्रममा चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरी कै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतामा स्थापित रहेको बताए ।

उनले भने, ‘यहाँ आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरे जस्तो भएको छ ।’ प्रचण्डले नेपालमा राजनैतिक स्थिरता कायम भएको बताउँदै अब आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नु रहेको उल्लेख गरे ।

सेक्रेटरी सु सिन्रोङ्गले सान्सी प्रान्त र येनान नगरको बारेमा संक्षिप्त ब्याख्या गरेका थिए । उनले अरु प्रान्त जस्तै यहाँ पनि विकासको तीब्रता रहेको विचार व्यक्त गरे ।

Loading...