निर्मला हत्याको दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्छ : पाठक

मुख्य समाचार समाज

काठमाडौँ, ३१ भदौ, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन् । उनले भने, ‘घट्ना भएको आज ५२ दिन भइसक्यो । तर, अहिलेसम्म प्रहरीले वास्तविक दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीको अनुसन्धानप्रति पनि अहिले जनताको विश्वास गुमेको छ । त्यसैले प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्छ ।’

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नै अनुसन्धानमा प्रहरीबाट कमजोरी भएको स्वीकार गरिसकेपछि अनुसन्धान प्रक्रियामा सुधार गर्नुपर्ने भएपनि त्यसो नगरिएको उनको गुनासो छ । उनले भने, ‘यस्ता किसिमका घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले दक्ष, स्रोत, साधनयुक्त र निर्भिक प्रहरी युनिट गठन गर्नुपर्छ । ट्राफिक, र शान्ति सुरक्षा लगायतका सबै कुरा एउटै प्रहरीबाट सम्भव हुँदैन । यसको लागि छुट्टै युनिट गठन गर्नुपर्छ ।’

उनले निर्मला पन्तको हत्या घटनाबारे डिएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरु बाहिरबाट झिकाउनु पर्ने माग गरे । उनले भने, ‘छानबिनको लागि डिआईजीभन्दा माथिल्लो नेतृत्वको प्रहरी अधिकारी सम्मिलित अनुसन्धानमा विशिष्ट विज्ञ समिति बनाउनुपर्छ ।’

पछिल्लो समय मुलुकमा बलात्कारलगायत मानव अधिकार विरुद्धका घट्नाहरु बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थामा प्रहरी कहाँ छ ? र सरकार कहाँ छ भन्दै प्रश्न गरे । उनले भने, ‘एउटा घटनाको पीडित कञ्चनपुरबाट न्याय माग्न काठमाडौं आउनुपर्ने ? प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुपर्ने ? त्यसमा पनि समय नदिने ? मानव अधिकार, कानुनी शासन र न्याय भन्ने कुरा यही हो ?’

निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुले निरन्तर अनुसन्धान गरिरहेको टोली र सरकारले गठन गरेको समितिको अनुसन्धान प्रक्रियामाथि पनि निगरानी गरिरहेको पाठकको भनाई छ । उनले भने, ‘यसको लागि हामीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आयोगमै बोलाएर छलफल गर्ने तयारी गरेका छौं । सम्भवतः भोलि उहाँहरुसँग छलफल हुन्छ ।’