सफाइमा कामपाको सक्रियता

समाज

काठमाडौँ, ३१ भदौ काठमाडौँ महानगरपालिकाले सफा शहर राख्नका लागि पाँच ठूला यन्त्र (जेट मेशिन) सञ्चालनमा ल्याएको छ । यन्त्रको पहिलो पटक प्रयोग गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर  व्यवस्थापनप्रति जिम्मेवारीवोध गर्ने हो भने थोरै उपकरणले पनि शहरलाई दिगो रूपमा सफा राख्न सकिने बताउनुभयो ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकले महसुस गर्ने गरी सफा शहर बनाउन हतार भइसकेकालेकाम गर्ने शैलीमा पनि केही परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।  युरो मापदण्ड ४ बमोजिमका जेट मेशिन पाँच हजार लिटर क्षमताका छन् । । त्यसमा चार हजार लिटर सफा पानी र एक हजार लिटर ढलको फोहर पानी अट्ने छुट्टाछुट्टै ट्याङ्की छन्  । ढल तानेर सानो ट्याङ्कीमा राखिन्छ भने ठूलो ट्याङ्कीमा भएको सफा पानीबाट फोहर भएको ठाउँमा सफाइ गरिन्छ । सो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहर तान्न र अर्को जेट सफा गर्न जानुपर्ने छैन  ।

जेटमा भएको स्प्रेगनले बिरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ ।  वडाध्यक्षको अगुवाइमा वडा क्षेत्रमा र केन्द्रको अगुवाइमा उक्त यन्त्रबाट पहिलो पटक रत्नपार्क, रानीपोखरी, बागबजार, पुतलीसडक, भृकुटीमण्डपमा सफाइ गरिएको छ । अघिल्लो साल वैशाखमा स्थानीय तहको निर्वाचनका समयमा जनप्रतिनिधिको पहिलो प्रतिबद्धतामध्ये सुन्दर र सफा शहर पनि थियो ।

    महानगर प्रमुख अमेरिकातर्फ

कामपा प्रमुख शाक्य सात दिनका लागि  अमेरिका प्रस्थान गर्नुभएको छ । प्रमुख शाक्य अमेरिकाको भर्जिनियामा रहेको फेड्रिकवर्ग नगरको निमन्त्रणामा शनिबार प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहित त्यसतर्फ जानुभएको हो ।  भ्रमणका क्रममा नगर नगर साझेदारीमा पर्यटन, सूचना प्रविधिको उपयोग, शिक्षा, स्वास्थ्य क्षेत्रका लाभ आदानप्रदान गर्ने विषयमा छलफल हुने कामपाले जनाएको छ ।  कामपा र  फेड्रिकवर्गबीच विसं २०७४ असोज २४ गते भगिनी सम्बन्ध कायम भएको थियो । (रासस)